आगलागीबाट रु ४० लाख बराबरको क्षति

-



     सफल आवाज    
     फागुन १८ गते २०७७ मा प्रकाशित


कृष्ण न्यौपाने, रासस


तनहुँ, १८ फागुन । जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ । सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

होटलको पहिलो तलामा रहेको आगन्तुककक्ष जलेर पूर्णरूपमा क्षति भएको उनले बताए । आगलागीबाट मानवीय क्षति भने भएको छैन । होटलमा रहेका केही पाहुनालाई घरको छतबाट उद्धार गरिएको बताइएको छ ।