जनशक्तिले नै देश विकासशील मुलुककाे लागि सिफारिस भएको हाे: मेयर जिसी

-



     सफल आवाज    
     फागुन १८ गते २०७७ मा प्रकाशित



पाेखरा, १८ फागुन । नेपालमा उत्पादन भएकाे जनशक्तिकाे कारणले नै संयुक्त रास्ट्र संघ मातहतको विकास नीति सम्बन्धी समितिले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेकाे पाेखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले बताएका छन् ।

पाेखरा महानगरपालिका शिक्षा महाशाखा एवं राेज फाउन्डेसनकाे सहकार्यमा संचालित किशोरी स्वास्थ्यमा विद्यालय प्रधानाध्यापकहरूकाे भूमिका सम्बन्धि एक दिने अन्तरकृया साथै निःशुल्क सेनेटरी प्याड भेन्डिङ्ग मेसिन वितरण कार्यक्रममा जिसीले यस्तो बताएका हुन ।

नेपाल सरकारकाे चालु आ.व २०७६/०७७ काे निति तथा कार्यक्रममा देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि सेनिटरी प्याड निःशुल्क उपलब्ध गराउने नीतिअनुरूप अनुदानकाे रकम पनि हस्तान्तरण भैसकेको उनले बताए । महानगरप्रमुख जिसीले अनुदान स्वरूप प्राप्त रकमलाई व्यवस्थित गरि प्रविधिमा जाेडिनुपर्ने बताए ।

पाेखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले किशोरीमा हुने महिनावारीसँग सम्बन्धित बिषयमा राेज फाउन्डेसनले सहजिकरण गरेकाेमा धन्यवाद ज्ञापन गरे । महानगरद्वारा शिक्षाकाे क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्व रहेकाे जानकारी दिए ।

कार्यक्रममा बाेल्दै नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारीले किशोरीहरूकाे संवेदनशिल बिषयप्रति राेज फाउन्डेसन सक्रियका साथ लागि परेकाे बताइन । उनले सामाजिक उत्तरदायित्वका निम्ति महानगरसँग सहकार्य गर्दै फाउन्डेसनले विद्यालयका किशोरीहरूलाई दिइएको शिक्षा महत्त्वपूर्ण रहेकाे बताइन।

उक्त कार्यक्रममा राेज फाउन्डेसनका अध्यक्ष माधव भण्डारीले महिनावारी र सेनिटरी प्याडसँग सम्बन्धित रहेर प्रस्तुतीकरण दिएका थिए ।

साेही कार्यक्रममा पाेखरा भित्र रहेका पाँच वटा विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि महानगर प्रमुख जि.सीकाे हातबाट निःशुल्क सेनेटरी प्याड भेन्डिङ्ग मेसिन वितरण गरिएको थियाे । जसमा भवानी कालिका मा.वि, विध्ववासिनी मा वि, शिवशक्ति मा वि, महेन्द्र मा वि र रत्न पाण्डे मा वि रहेका छन् । अन्य विद्यालयहरूलाई पनि सेनेटरी प्याड भेन्डिङ्ग मेसिन उपलब्ध गराइने फाउन्डेसनले जनाएको छ ।

कार्यक्रममा राेज फाउन्डेसनका निर्देशक तथा शिक्षा विभाग प्रमुख विश्वराज पंगेनी, पाेखरा महानगरपालिका स्वास्थ महाशाखा प्रमुख हेमन्त शर्मा, राेज बहिनी महिला सृजनशिल समाजकाे केन्द्रीय उपाध्यक्ष देबिका कार्की, राेज फाउन्डेसन गण्डकी प्रदेशका जिल्ला संयाेजक एवं पाेखरामा रहेका सामुदायिक विद्यालयका प्राध्यापक शिक्षकशिक्षिकाहरूकाे उपस्थिती रहेकाे थियाे ।

राेज बहिनी महिला सृजनशिल समाज कास्कीका संयाेजक लक्ष्मी कार्कीकाे अध्यक्षतामा सम्पन्न साे कार्यक्रमकाे संचालन राेज फाउन्डेसनका केन्द्रीय संयाेजक अप्सरा खनालले गरेकी थिइन ।