सरकार फाल्दा बर्बादै भयो भनेर सडकमा आउदैनौ : मन्त्री अर्याल

-


     सफल आवाज    
     फागुन २१ गते २०७७ मा प्रकाशित


स्याङ्जा, २१ फागुन । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले संसदबाट सरकार फेर्दा सडकमा गएर आन्दोलन नगर्ने बरु त्यसलाई सहजरुपमा स्वीकार गर्ने बताएकी छन् । गृहजिल्ला स्याङ्जास्थित बिरुवा गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्षकप (वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगीता)को एवं विरुवा गाउँपालिका–६ स्थित भुवनघाट पक्की पुलको उद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन ।

सत्तारुढ नेकपाकै शीर्ष नेतृत्वसहितको एउटा पक्ष अहिले केपी शर्मा ओली नेतृत्वको सरकार हटाउने खेलमा लागिरहेको प्रसंग उल्लेख गर्दै उनाँले सरकार हटाउने नै भए विधि, प्रक्रियामार्फत आउन आग्रह गरिन । ‘हामी सम्मानित संसदबाट सरकार फेर्दा खुसी नै हुन्छौ । हामी जनताका मान्छे हौ, जनताको बिचमा आउदा खुसी नै हुन्छौं’, मन्त्री अर्यालले भनिन, ‘तर संसद आह्वान भएको छ । प्रधानमन्त्री हटाउछौ भन्नेहरुले विधिसम्मत ढंगले फाल्नुपर्छ ।

संसद् शुरु भएर प्रधानमन्त्री हटाएमा हामी बर्बादै भयो भनेर हामी सडकमा आउने वाला छैनौं ।’ पार्टीका शीर्ष नेतृत्वबीचको अस्वस्थ खेल, पद र शक्तिको खेलले सत्ताधारी पार्टी दुर्घटनामा परेको भन्दै नेकपासँगै सिंगो मुलुक नै दुर्घटनामा परेको बताइन । यसले अस्थिरता ल्याएको भन्दै उनाँले फेरि सत्ताको गणितीय खेल शुरु भएको भन्दै यसले मुलुकमा स्थायी सरकारको परिकल्पना भताभुंग पारिदिएको बताइन ।

मन्त्री अर्यालले सरकारले इतिहासमा छुटाइएको लिम्पियाधुरासम्मको भूमी समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएको सरकारमाथि हमला भएको बताइन । सरकारले खुट्टा नकमाइकन नक्सा जारी गरेपछि नै ओली सरकार हटाउने खेल शुरु भएको भन्दै उनले त्यो कुरा पार्टीका कतिपय शीर्ष नेतृत्वले गरेका कारण अहिलेको स्थिति सिर्जना भएको बताइन । । ‘यै सरकार हो जसले खुट्टा नकमाइकन इतिहासमा गुमेको भूमि समेटेर नक्सा जारी गर्यो । नक्सा जारी गरेको फल आज हामीले चाख्दैछौ’, मन्त्री अर्यालले भनिन, ‘त्यहिबेला देखि सरकार नफाली हुदैन भनेर लागे ।

सरकारले पहिलोपटक सगरमाथाको उचाइ मापन गरेर नेपाली सामथ्र्य विश्वमा परिचित गराएको मन्त्री अर्यालले बताइन । उनले भनिन, ‘विदेशीहरुले धेरै पटक उचाइ नाप्यो तर हामीले पहिलोपटक आफ्नै स्रोतसाधन, जनशक्तिको प्रयोग गरेर उचाइ नाप्यौ र उचाइ पनि बढेर आएको छ । यसले विश्वमा नेपालको सामथ्र्यको चर्चा भएको छ ।’ जनताले विश्वास गरेपछि सरकारले विकासको मूल फुटाउदै गर्दा सत्ताधारी पार्टीमै ठूलो समस्या उत्पन्न भएको भन्दै उनले धेरै वार्ता तथा छलफलबाट पनि निकास ननिस्किएपछी बाध्य भएर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताइन ।

अदालतबाट फैसला भएको दुई दिनमै दाहाल–नेपाल पक्ष, काँग्रेस र जनता समाजवादी पार्टी मिल्दा मात्र भारतलाई फाइदा हुन्छ भन्ने आशयको कुरा प्रचण्डले बोलेको कुरा उल्लेख गर्दै मन्त्री अर्यालले भारत वा कुनै छिमेकी देशलाई फाइदा हुने कुरा होइन नेपालको हित हुने दिशामा अगाडी बढ्न आग्रह गरिन ।

यसैबीच मन्त्री अर्यालले पाँच वर्षको बिचमा ज्याग्दी खोलामा बाटो पिच गर्ने प्रतिबद्धता व्यक्त गरिन । हस्पिटल सञ्चालन गर्न बाँकी रहेको भन्दै त्यसलाई प्रक्रिया अगाडी बढाउन आग्रह गर्दै उनले अहिले बनिसकेको हस्पिटलको संरचनालाई १५ सैयाको गाउँपालिकाको हस्पिटल बनाइने बताइन । आमा समुहको सामुदायिक भवन र खेल मैदानका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले स्याङ्जा जिल्लामा वितेको ३० वर्षमा नभएका काम ओली नेतृत्वको सरकारले ३ वर्षमा सम्पन्न गरेको दाबी गरिन ।