निर्वाचन आयोगले भन्यो: ओलीको एमाले र प्रचण्डको माओवादी केन्द्र

- पुनः एकिकरण गर्ने भए १५ दिनभित्र आयोगमा निवेदन दिन सक्ने

-



     सफल आवाज    
     फागुन २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ फागुन । निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्नका लागि आफ्ना ६ बुँदे निर्णय आज सार्वजनिक गरेको छ । सर्वोच्च अदालतको फागुन २३ को फैसलाका सम्बन्धमा आज बसेको निर्वाचन आयोगको बैठकले फैसला कार्यान्वयनको लागि ६ बुँदे निर्णय सार्वजनिक गरेको हो ।

एमाले र माओवादी केन्द्र एकिकरण भएर बनेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामक राजनीतिक दल उत्प्रेषणको आदेशबाट बदर भएको आयोगले जनाएको छ । आयोगमा दर्ता नंबर १४५ मा दर्ता रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको दल खारेज गर्ने र सो दल खारेजीको जानकारी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई गराउने निर्णय भएको छ । यस्तै अदालतको फैसला बमोजिम अलगअलग राजनीतिक दलको रुपमा साविककै अवस्थामा कायम रहेको ब्यहोरा पनि ओली र प्रचण्डलाई दिने उल्लेख गरेको छ ।

आयोगले आगामी दिनमा पुनःएकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐनको परिधिभित्र रही आआफ्ना केन्द्रीय समितिबाट एकीकरण गर्ने निर्णयसहित एकीकरणपछि बन्ने नयाँ दलको नाम र चिह्नसमेत प्रस्ताव गरी १५ दिन भित्र आयोगमा निवेदनसहित उपस्थित हुन दुवै पक्षलाई आमन्त्रण गरेको छ ।

आयोगको फागुन २३ गतेको निर्णयले एमाले र माओवादी केन्द्रबीच एकिकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामक राजनीतिक दल दर्ता भएको नेपाल राजपत्र खण्ड ६८, काठमाडौं, जेष्ठ २३ गते, २०७५ साल अतिरिक्तांक (८) अ, मा प्रकाशन भएको सूचना राजपत्रबाट खारेज गरेको सूचना राजपत्रमा प्रकाशन गरिने भनिएको छ ।

सर्वोच्चको फैसलाले निर्वाचन आयोगमा साविकमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलगअलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा २०७५ साल जेष्ठ २३ गते अगाडीको अवस्थामा कायम रहेको हुँदा सोही ब्यहोरा राजपत्रमा प्रकाशन गरिने जनाईएको छ ।

निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अबदेखि अलगअलग राजनीतिक दलका रूपमा रहेको भनी सङ्घीय संसद सचिवालय, प्रदेशसभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् ।

‘नेपाल कम्युनिष्ट पार्टी’ आफ्नो नाममा दर्ता भएकाले सोही नामको ओली–दाहाल अध्यक्ष रहेको दल खारेज गर्न रिट निवेदक ऋषिराम कट्टेलले सर्वोच्चमा दिएको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले बदर गरी उनकै पक्षमा निर्णय गरेको थियो ।

विसं २०७५ जेठ २३ पछि दल दर्ता नम्बर १५३ मा दर्ता भएको गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्र र दल दर्ता नम्बर १६० मा दर्ता भएको सन्ध्या तिवारी नेतृत्वको नेकपा एमाले अदालतको फैसलापछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र नियमावली बमोजिम राजनीतिक दलका रूपमा कायम हुन नसक्ने आयोगले जनाएको छ ।