खानेपानीकाे महत्वाकांक्षी आयोजना: पाेखरेलीले पिउनेछन्, सिधैं धाराको पानी

-


     सफल आवाज    
     चैत्र २ गते २०७७ मा प्रकाशित


पोखरा, २ चैत । पोखराको सडक छेउमा घेरो लगाइन्छ । खटिएका कामदार सबैले सुरक्षा विधि अपनाउँछन् । र, अत्याधुनिक मेसिन सहयोगमा शारीरिक परिश्रम खन्याउँछन् । यस्तो कार्य तपाईले पोखरा सहरमा विभिन्न १५ स्थानमा देख्न सक्नुहुनेछ ।

हरेक स्थानमा इञ्जिनियर, सेफ्टी, फोरमेन लगायत गरी कम्तीमा १५ जना छन् । यसरी कुल २ सय २५ जना बढीले एकै पटक धमाधम काम गरिररहेका छन् । यो हो–पोखरेलीलाई शुद्ध खानेपानी खुवाउने महत्वाकांक्षी ८ अर्बको खानेपानी आयोजना ।

यही गतिमा काम भयो भने अबको १८ महिनामा पोखरेलीको धारामा सिधैँ खान मिल्ने गरी गुणस्तर, कञ्चन र सफा पानी झर्नेछ ।

सो आयोजनाको सेफ्टीमा खटिएका देवेन्द्र गौतम भन्छन्, ‘जापानी प्रोजेक्ट भएको हुँदा पोखरेलीको लागि यो खुसीको कुरा हो । अबको १८ महिनापछि पोखरेलीले सिधैँ धाराबाटै पानी पिउन सक्छन् ।’

यो आयोजनाअन्तर्गत मूल सडकमा मुख्य पाइप तथा घरघरमा जाने स्थानमा सहायक पाइप बिछ्याउने काम भइरहेको छ । हालसम्म पोखराको लेकसाइड, सभागृहचोक, न्यूरोड लगायतका स्थानमा पाइप बिछ्याइसकिएको छ । नयाँबजार, बिरौटा, विन्ध्यवासिनी, चिप्लेढुंगा, पस्र्याङ, नदीपुर लगायत १५ स्थानमा धमाधम पाइप बिछ्याउने काम भइरहेको छ ।

सुरक्षाका विधि र सवारी चाप व्यवस्थापन गर्दै निकै व्यवस्थित ढंगले काम भएको देख्दा पोखरेली समेत दंग छन् । पोखरा लेकसाइडका हरिप्रसाद भट्टराई भन्छन्, ‘विदेशी प्रोजेक्टको कामबाट नेपालीले पनि धेरै कुरा सिक्नुपर्दो रहेछ भन्ने लाग्यो । अत्यन्तै व्यवस्थित ढंगले काम हुनुको अर्थ नै विकासले फड्को मार्ने हो । नेपालीले सिको गर्नु जरुरी छ ।’

पोखरा खानेपानी सुधार आयोजनाअन्तर्गत पोखरेली झन्डै ४ लाख जनालाई शुद्ध पानी खुवाउने यसको लक्ष्य छ । त्यसको लागि पोखरामा वितरण हुने सबैभन्दा ठूलो खानेपानी आयोजनाको मूल रहेको मर्दीदेखि पोखरासम्म करिब १ सय किमीसम्म पाइप बिछ्याइनेछ । पाइप बिछ्याउने र रिजर्भ ट्यांकी निर्माण गरेर व्यवस्थित र शुद्ध पानी घर–घरमा पु¥याउने लक्ष्य आयोजनाको हो ।

हुन त पोखराको खानेपानी वितरण प्रणाली २०३६ सालदेखिको हो । यो झण्डै ४ दशक पुरानो भैसक्यो । यसैले पनि पोखरेलीका लागि वर्षायाममा धमिलो पानी टाउको दुखाइ विषय बन्दै आएको छ । मानवीय स्वास्थ्यको लागि सबैभन्दा महत्वपूर्ण पानी नै धारामा लेदो र धमिलो आउनु कुनै पनि हालतमा स्वस्थकर हैन । पोखरेलीले आफूले जसोजसो छानेर वा उमालेर पिउनुपर्ने बाध्यता छ । कतिपय अवस्थामा नियमित रुपमा त्यही पानी पनि पाइँदैन ।

लामो समयदेखि पोखरेलीको त्यहीँ गुनासो र पानीको वितरण प्रणालीमा सुधार ल्याउन आयोजनाले गत वर्षदेखि खानेपानीको पाइप बिछ्याउने काम गरिरहेको हो ।

पोखरा खानेपानी सुधार आयोजनाका उपप्रमुख इन्जिनियर आशीष कार्कीका अनुसार पोखराभित्र १ सय किमी दूरीको खानेपानी पाइप बिछ्याउने काम भइरहेको हो । त्यसमध्ये ४८ किमी मुख्य पाइप लाइन र बाँकी घरघरसम्म पानी पु¥याउने नेटवर्किङ पाइप बिस्तार काम भइरहेको छ ।

सो आयोजनाका लागि भण्डारण क्षमता बिस्तार गर्न ३ ठाउँमा २० लाख लिटरका दरले रिजर्भ ट्यांकी निर्माण भइरहेको छ ।

आयोजनाअन्तर्गत हाल वितरित पानी थपिने नभइ वितरण प्रणालीमा सुधार र शुद्ध पानी हुने जनाइएको छ । पोखरामा दैनिक साढे ६ करोड लिटर पानीको माग छ । केही पानी चुहावट पनि छ । त्यसैले पोखरामा अझै दैनिक १ करोड लिटर पानी अपुग रहेको पाइन्छ । मुख्य मुहान मर्दीबाट दैनिक ४ करोड ४० लाख लिटर र भोटीखोलामार्फत दैनिक ३० लाख लिटर पानी आपूर्ति हुने गरेको छ ।

पोखरामा पाइप बिस्तारसँगै मर्दीमुहानमा ४ करोड २० लाख लिटर पानी शुद्धीकरणलाई ट्रिटमेन्ट प्लान्ट बन्नेछ  भने पुरुञ्चौर र हेजामा समेत सो खालका प्लान्ट बन्नेछन् । पोखरा महानगरपालिकामा वितरीत पानीका ४६ हजार धारा छन् । वर्षमा करिब १ हजार ५ सय धारा थपिन्छन् । एक जनाका लागि दैनिक १ सय ३० लिटर दरले पानी खर्च हुन्छ अनुमान छ । पोखरेली ४ लाख जनाले दैनिक पानी प्रयोग गर्ने गरेको खानेपानी संस्थान पोखराले जनाएको छ ।