नेदरल्यान्ड्समा आमनिर्वाचन शुरु, तीन दिन मतदानको व्यवस्था

-



     सफल आवाज    
     चैत्र २ गते २०७७ मा प्रकाशित



दी हेग, २ चैत युरोपेली मुलुक नेदरल्यान्ड्समा सोमबारदेखि संसदका लागि मतदान शुरु भएको छ । कोरोनाभाइरसका कारण ठप्प झैं भएको युरोपको जनजीवनमा यो पहिलो राष्ट्रव्यापी राजनीतिक अभियान हो ।

प्रधानमन्त्री मार्क रुटले यस चुनावमा पनि विजयी हासिल गर्ने सम्भावना छ । कोभिड–१९ को प्रसार रोक्ने उद्देश्यले रातिको कफ्र्यु समेतका अति कडा प्रतिबन्ध र लकडाउन गरेको नेदरल्यान्ड्समा सोमबार बिहान ७.३० बजेदेखि मतदान स्थल खुला गरिएको छ । कोभिडको जोखिममा रहेका व्यक्तिका लागि सोमबार र मङ्गलबार मतदानको व्यवस्था मिलाइएको छ भने बुधबार सबैलाई मतदान गर्ने अवसर दिइएको छ ।

एएफपीका पत्रकारका अनुसार, दी हेगस्थित मडुरोडाम पार्कमा मतदानका लागि केही मानिस देखा परेका छन् । मतदान अघि आइतबार प्रधानमन्त्री रुट विरोधी प्रदर्शन नियन्त्रण गर्न प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रयोग गर्नु परेको थियो । दोस्रो विश्वयुद्ध पश्चात् पहिलो पटक दी हेगमा कफ्र्यु लगाइएको भन्दै प्रधानमन्त्री रुटका विरुद्धमा प्रदर्शनहरु गरिएका छन् । तर सन् २०१० देखि सत्तामा रहनु भएका प्रधानमन्त्री रुटको गठबन्धन नै यसपटक पनि विजयी हुने अनुमान गरिएको छ ।

यो विजयपछि उहाँले युरोपेली मुलुकमध्ये सबैभन्दा लामो समय सत्तामा रहने रेकर्ड बनाउनु हुनेछ । पछिल्ला चुनावी मतसर्वेक्षणमा रुटको पार्टी भिभिडीले करिब २५ प्रतिशत मत प्राप्त गर्ने देखाएको छ । रुटको निकटतम प्रतिद्वन्द्वी पार्टी पिभीभीले करिब १३ प्रतिशत मत प्राप्त गर्ने मतसर्वेक्षणले देखाएका छन् ।