ठूला परियोजनाको तयारी गरेर मात्रै लगानी सम्मेलन गर्नुपर्छ : गाेल्छा

-



     सफल आवाज    
     चैत्र ६ गते २०७७ मा प्रकाशित



काठमाडौं, ६ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाको पूर्ण तयारी गरेर लगानी सम्मेलनको आयोजना हुनसके त्यसबाट उचित प्रतिफल प्राप्त हुने कुरा बताएका छन् । “तयारी नगरी लगानी सम्मेलन लगायतका कार्यक्रम आयोजना गर्दा त्यो अपेक्षाकृत सफल हुन सकेको छैन, अब तयारी आयोजनासहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरी काम गर्नुपर्छ ।” गोल्छाले भने ।

अन्तरराष्ट्रिय लगानी प्रवद्र्धन समिति विस्तार समारोहलाई सम्बोधन गर्दै उनले लगानी सम्मेलन त भए । तर केही ठूला जलविद्युत्मा रहेको प्रत्यक्ष वैदेशिक लगानीलाई छाडेर हेर्ने हो भने अपेक्षितरूपमा विदेशी लगानी आउन नसकेको यथार्थ चित्रण गरे । महासङ्घले भारत, चीनलगायतका बाह्य लगानी आउनसक्ने देशका यहाँस्थित दूतावाससँग पनि यस विषयमा छलफल अगाडि बढाइएको उनले जानकारी दिए ।

अध्यक्ष गोल्छाले भने, “नेपालमा कुन क्षेत्रमा विदेशी लगानी खुला गर्ने र कुन क्षेत्रमा नगर्ने भन्ने विषयमा पनि निकै धेरै गृहकार्य जरूरी छ ।” महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र प्रत्यक्ष विदेशी लगानी आकर्षण हुन नसक्नुका कारणको गहिरो अध्ययन जरुरी रहेको बताए ।

महासङ्घका कार्यकारिणी समितिका सदस्य आनन्दकुमार बगाडियाको सभापतित्वमा भएकाे कार्यक्रममा समिति विस्तार गरिएको छ । समितिका सदस्यमा शक्तिकुमार बेगानी, गजेन्द्र भगत, दिवाकार राठी, समीर शर्मा, समीक्षा राई, दिलीप अग्रवाल र दिपीका श्रेष्ठलगायतका रहेका छन्।