
टोकियो, ७ चैत । जापानको मौसम विज्ञान निकायले शनिबार ६.९ म्याग्निच्युडको भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिँदै उत्तरपूर्वी सामुद्रिक तटीय क्षेत्रका वासिन्दालाई सचेत रहन आग्रह गरेको छ । शुरूमा ७.२ म्याग्निच्युडको कम्पनको अनुमान गरिएको भएपनि जापानी अधिकारीले भूकम्पको धक्का ६.९ म्याग्निच्युडको पुष्टि भएको बताएका छन् ।
अमेरिकी भूगर्व विभागले जापानमा शनिबार गएको भूकम्पको धक्का ७.० म्याग्निच्युडको रहेको बताएको छ । भूकम्पका कारण तत्काल मानवीय क्षति नभएको तर सुनामी आउनसक्ने अवस्थालाई ध्यानमा राख्न जापानी अधिकारीले नागरिकलाई आग्रह गरेका छन् । स्थानीय समय अनुसार शनिबार साँझ ६ बजेर ९ मिनेट जाँदा महशुस गरिएको भूकम्पको केन्द्रविन्दु मियागी क्षेत्रको प्रशान्त महासागरीय क्षेत्रमा जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराइमा रहेको जापानी मौसम विज्ञान निकायले बताएको छ ।
भूकम्पपछि समुद्रमा करिब एक मिटरसम्मको पानीको तरङ्ग निस्किनसक्ने भन्दै तटीय क्षेत्रमा रहेका हजारौ नागरिकलाई सुरक्षित स्थलतर्फ जान निर्देशन दिइएको छ । जापानी आणविक अधिकारीहरूले भूकम्पको धक्काका कारण आणविक प्लान्टमा कुनै प्रकारको असामान्य सङ्केतको महशुस नगरिएको बताइएको छ । जापानमा यस पहिले सन् २०११ को मार्च ११ मा गएको भूकम्पका कारण १५ हजारभन्दा बढी नागरिकको मृत्यु भएको वा वेपत्ता भएका थिए ।
दश वर्ष पहिले जापानमा आएको सुनामीका कारण निम्तिएको विनासलाई सम्झँदै भूकम्पपछि हजारौँ जापानी नागरिक सुरक्षितस्थलतर्फ हतार हतार भागेको जापानी राष्ट्रिय टेलिभिजन एनएचकेद्वारा भिडियोमा देखाइएको छ । सरकारले उच्च सतर्कता अपनाउन भनेपछि आफूहरू पहाडी क्षेत्रमा भागेको इसिनोमाकी शहरका एक स्थानीय ताकासी योकोताले एएफपीलाई बताए । जापानी अधिकारीले सुनामीको सम्भावना क्रमशः कम हुँदै गएको तर सावधानीका लागि अझै केही समय सुरक्षितस्थलमा रहन भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई निर्देशन दिएका छन् ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




