
कावासोती, ८ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन् । हसौरा, चिलाहा, सालघारी, चिलाहा खोलापारि, स्कूलटोल, बगनासे, कुसनरी, सातबिघा, बीचटोल, ढुङ्गेनीका बासिन्दा पुर्जाविहीन बन्दा समस्यामा परेका छन् ।
लामो समयदेखि बसोबास गरेको जमिन भूमाफियाले आफ्नो नाममा पुर्जा बनाउँदा यस क्षेत्रका बासिन्दा समस्यामा परेका हुन् । यहाँको ७० बिघा जग्गा करिब २५ जनाले आफ्नो नाममा पुर्जा निकालेका छन् । पुर्जा निकाल्नेहरु काठमाडौं, धादिङ, पोखरा, वीरगञ्जलगायतका व्यक्ति भएको जनाइएको छ । विसं २०३१ देखि बसोबास गर्दै आएको भए पनि आफू बसोबास गरेको जमिनको पुर्जा भने अरुकै नाममा रहेको स्थानीयवासीको भनाइ छ ।
विसं २०३१ देखि बसोबास गरेको बताउने मायाराम थारूको जग्गाको समेत भूमाफियाले आफ्नो नाममा पुर्जा निकालेका छन् । “यहाँ केही थिएन मलगायत केही व्यक्तिले झाडी फाँडेर बस्यौँ, त्यो बेला वनको क्षेत्र भनेर मलाई त समातेर भैरहवा जेलमा समेत थुनियो”, मायारामले भने, “पछि धरौटीमा छाड्यो, तर आफैँले भोग गरेको जमिनको भने भूमाफियाले पुर्जा निकाले ।” आफैँले भोग गरेको जग्गासमेत भूमाफियाले गाउँमै नआई पुर्जा बनाएको उनी बताउछन् ।
विसं २०३१ देखि बसोबास गरेको भए पनि २०५५ मा भने आफ्नो जग्गा भूमाफियाले पुर्जा बनाएर कब्जा गरेको थारूको भनाइ छ । उनीजस्तै यहाँका धेरै घरपरिवारको बसोबास रहेकाले जग्गाको पुर्जा अर्कैको नाममा छ । विसं २०५४ मा फिल्डबुक कायम गरी विसं २०५५ मा मालपोत कार्यालयले पुर्जा वितरण गरेको थियो । सो समयमा विभिन्न ठाउँका करिब २०, २५ जनाले आफ्नो नाममा पुर्जा बनाए ।
अहिले पनि यहाँ बसोबास गर्नेहरुको जग्गाको पुर्जा अर्कैको नाममा रहेको स्थानीयवासी गोपी शर्माले बताए । पुर्जा गलतरूपमा निकालेको भनेर सो समयमा तत्कालीन गाविस कार्यालय, मालपोत घेर्ने काम गरेपछि मालपोत कार्यालयले पुर्जा बदरको काम अगाडि बढाएको थियो तर मालपोत कार्यालय आफैँले जारी गरेको पुर्जा पुनः सच्याउन नमिल्ने भनी अदालतले आदेश दिएपछि बसोबास गरेका व्यक्तिभन्दा अरुकै नाममा पुर्जा कायम भएको हो ।
शिवमन्दिर क, ख र ग को नक्सामा जोतभोग गर्नेभन्दा फरक व्यक्तिको नाममा पुर्जा रहेको उनको भनाइ छ । सोही समयमा यहाँका केही स्थानीयवासीले समेत पुर्जा बनाएका थिए तर आफू बसोबास गरेको भन्दा फरक ठाउँको पुर्जा बनेपछि यसले समेत समस्या निम्त्याएको कावासोती–४ का वडाध्यक्ष रमाकान्त चापागाईँले बताए । करिब ३०० घरधुरीले जोतभोग गरेको जग्गाभन्दा फरक ठाउँको कित्ताकाट भएको छ । यसले अर्को समस्या निम्त्याएको उनको भनाइ छ । करिब ८० घरपरिवारले आफू बसेको भन्दा केही फरक भए पनि पुर्जा निकालेका छन् तर ३०० घरपरिवार भने आफू बसेको ठाउँभन्दा फरक स्थानमा कित्ताकाट भएपछि पुर्जाविहीन बनेका छन् ।
तत्कालीन समयमा केन्द्रको नापीले छ महिना यहाँ आएर ‘बाउन्ड्री’को काम गरेको थियो तर पछि फिल्डमा नआई कित्ताकाट गरेकाले यस्तो समस्या आएको वडाध्यक्ष चापागाईँले बताए । सोही समयमा फिल्डमा नआई केही भूमाफियाले यस क्षेत्रको जग्गाको पुर्जा आफ्नो नाममा निकालेका राससले लेखेकाे छ । पुर्जा निकाल्ने धेरै मानिस कहाँका हुन् भन्नेसमेत यकिन नभएको वडाध्यक्ष चापागाईँले बताए । यहाँका स्थानीयवासीले भने फिल्डबुक सच्च्याउनुपर्ने माग गरेका छन् । जोतभोग गरेको आधारमा पुनः नापी गरेर पुर्जा दिनुपर्ने माग स्थानीयवासीको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



