लायन्स डिष्ट्रिक्ट ३२५बि १ नेपालको नवौं कन्भेन्सन पोखरामा हुने

-



     सफल आवाज    
     चैत्र ८ गते २०७७ मा प्रकाशित



पोखरा, ८ चैत । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५बि १ नेपालको नवौं कन्भेन्सन चैत १४ गते पोखरामा हुने भएको छ ।

पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने लायन्स कन्भेन्सनमा करिब ४ हजार लायन्स सदस्यहरुको जमघट हुने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कन्भेनर शिवराज आचार्यले सफल आवाजलाई जानकारी दिए ।
कन्भेन्सनको तयारी अन्तिम चरणमा पुगेको र सहभागिताका लागि प्रि–रजिष्टेसन गर्नेहरुको संख्या उत्साहजनक रहेको डिष्ट्रिक्ट गभर्नर मन रोकाले बताए ।

कोरोनाका कारण सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा उत्साह थप्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास रहेको छ ।

कन्भेन्सनको पूर्व सन्ध्यामा चैत १३ मा काठमाडौंबाट पोखरासम्म कार ¥याली हुने भएको छ । सोही दिन पोखराका ९ वटा चोकमा सरसफाइ कार्यक्रम हुनेछ ।

यस्तै, पढाउ अभियान कार्यक्रम (लायन्स शिक्षा कोष) अन्तरगत २ सय ८० जना ट्रस्टिद्वारा ४ सय ९० जना छात्रछात्रालाई रबि महल, सिर्जनाचोकमा हुने समारोहबीच छात्रवृत्ति वितरण गरिनेछ ।

कन्भेन्सनको दिन चैत १४ गते बिहान चिप्लेढुंगाबाट परेड हुनेछ । बाजागाजासहित हुने परेड प्रदर्शनी केन्द्रमा पुगी कन्भेन्सनमा परिणत हुने आचार्यले जनाए । सो दिन दिनभर सम्मेलनस्थल पोखरा प्रदर्शनी केन्द्रमा रक्तदान कार्यक्रम गरिनेछ ।

कन्भेनर शिवराज आचार्य

यसपटक सहमतिको कन्भेन्सन हुन लागेकाले आमलायन्सहरुमा उत्साह छ । कन्भेन्सनका लागि डिष्ट्रिक्ट गभर्नरमा पोखराका विशेश्वर आचार्य, फस्ट भाइस गभर्नरमा महेन्द्र पौडेल र सेकेण्ड भाइस गभर्नरमा मनिश्रीरत्न बज्राचार्यको उम्मेदवारी रहेको बताएको छ ।

लायन्स अन्तर्राष्ट्रियको प्रतिनिधित्व गर्ने सुनौलो अवसर ३२५बि १ लाई छ । अन्तर्राष्ट्रिय डाइरेक्टरका लागि सो डिष्ट्रिक्टबाट एकमात्र उम्मेदवार बालकृष्ण बुर्लाकोटी छन् । उनको उम्मेदवारीलाई पारित गरी मन्टिपलमा पठाउनसमेत यो कन्भेन्सनको भूमिका महत्वपूर्ण हुने जनाइएको छ ।
कन्भेन्सनका लागि होस्ट क्लब लायन्स क्लब अफ पोखरा माछापुच्छे भिलेज रहेको बताएको छ । पोखरा क्षेत्रका सम्पूर्ण क्लबहरुको समेत महत्वपूर्ण भूमिका छ । कन्भेन्सन तयारीमा २८ वटा उपसमितिले आ–आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् ।