दमकमा सहजै पाइन्न मल

-



     सफल आवाज    
     चैत्र १० गते २०७७ मा प्रकाशित



दमक, १० चैत । दमकमा कृषकले सहजरुपमा मल पाउन सकेका छैनन् । स्थानीय सरकारले मल आयात र बिक्रीमा सीमित सहकारी संस्थालाई मात्र बिक्री गर्न पाउने अनुमति दिएपछि यहाँका कृषकले सहजै मल पाउनबाट वञ्चित भएका हुन् । स्थानीय सरकारले कृषि मल बिक्रीमा दमकका आधा दर्जन सहकारी संस्थालाई ६ महिनाअघि बिक्री अनुमति दिएपछि मलको सहज आपूर्तिमा समस्या आएको कृषकको बुझाइ छ ।

कृषि मल तथा अन्य आवश्यक कच्चा सामग्रीहरु बेच्दै आएका कृषि भण्डारले यसअघि सरकारमार्फत उपलब्ध हुने मल बिक्री गरिआएका थिए । मापदण्ड पुगेका मल बिक्रेता भण्डारलाई समेत बिक्री अनुमति नदिँदा समस्या आएको दमक–६ स्थित श्रेखरा कृषि भण्डारका सञ्चालक पदम बुढाथोकीले बताए । मल पाउन स्थानीय सरकारले नजीकका सहकारीलाई मात्र बिक्री अनुमति दिएपछि त्यस्तो समस्या देखिएको व्यवसायीको भनाइ छ ।

दमक–६ कै बबिन कृषि भण्डारका सञ्चालक बसन्त न्यौपानेले पनि सरकारमार्फत अनुदानमा आउने मल बिक्री वितरणमा एग्रोभेटलाई बेच्न नदिँदा किसानले समस्या झेल्नुपरेको बताए । किसानलाई सहजरुपमा मल उपलब्ध गराउन स्थानीय सरकारले चासो नदिँदा त्यसको प्रत्यक्ष मार किसानले भोग्नुपरेको उनको भनाइ छ । उनले भने, “किसान मल खोज्दै हामी कहाँ आउँछन्, तर त्यस्तो मल बिक्री गर्न नदिँदा दुःख पाउँदै आएका छन् ।” उनका अनुसार अनुदानमा आउने मल एग्रोभेटमा नपाउँदा यहाँका किसान मारमा परेका छन् ।

किसानका लागि गुणस्तरीय मल आयात र बिक्री वितरणको जिम्मा पाएको सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले स्थानीय तहसँग समन्वय गरी बिक्री वितरण गर्न थालेको हो । कम्पन्नीसहित साल्ट ट्रेडिङ कर्पोरेशनले सरकारी अनुदानमार्फत युरिया, डिएपी, पोटासलगायत मल आयात गरिआएको छ । सबै प्रकारका मल सिङ्गापुर, भारत, बङ्गलादेश, कोरिया, जापानलगायत मुलुकबाट आयात भएको छ । कर्पोरेशनले पछिल्लो केही वर्षदेखि मल आयात गरी बिक्री गर्दै आएको छ ।