साढे १ अर्ब बढी लागत रहेकाे बन्दीपुर केबुलकार दशैंसम्म सञ्चालनमा आउने

-



     सफल आवाज    
     चैत्र १२ गते २०७७ मा प्रकाशित



दमौली, १२ चैत । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैंसम्म सञ्चालनमा आउने भएको छ । रु १ अर्ब ६६ करोड ८९ लाख लागत रहेकाे केबुलकार दशैँमा सर्वसाधारणलाई चढाउने योजना बमोजिम धमाधम काम भइरहेको छ।

पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दशैँमा केबुलकार सञ्चालन गर्न सकिने बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार बटम स्टेशनको काम सकिएको छ भने सामान पनि आइपुगेको छ । “दुई महिनाभित्र केबुलकारको टर्मिनल भवन पनि निर्माण सकिन्छ”, शर्माले भने । कामले गति लिइरहेको बेला गत वर्ष कोभिड महामारीका कारण केही समय काम प्रभावित भएको थियो ।

“कोभिड महामारी नभएको भए यतिबेलासम्म केबुलकार सञ्चालनमा आइसक्थ्यो”, उनले भने, “अब दशैँमा सञ्चालन गर्ने गरी तयारी गरेका छाैं ।” शर्माका अनुसार परियोजनाको ६५ प्रतिशत काम सम्पन्न भएको छ । पहिलो चरणमा केबुलकार सञ्चालन र दोस्रो चरणमा क्विन टावर सञ्चालन गर्ने योजना छ । पन्ध्र तल्ले क्विन टावरको सात तला ढलान सकिएको छ । बन्दीपुर केबुलकार परियोजना दक्षिण एशियामा नै फरक उद्देश्यसहित निर्माण भइरहेको छ ।

केबुलकार सिधै चारतारे होटलमा प्रवेश गर्नेछ । होटलबाट सूर्योदय देख्न सकिनेछ । यहाँ सिसमहल, वाक्स म्युजियम, प्लानेटरियम, भूत बङ्गला, १ हजार क्षमताको सम्मेलन केन्द्र, रेस्ट्रो जोन, स्वीमिङ पुल र ६६ कोठा रहनेछन् । माथिल्लो स्टेशनमा निर्माण हुने क्विन टावरको लागत रु ८० करोड छ । कम्पनीले परियोजना थप आकर्षक बनाउन संसारकै अग्लो बन्जीजम्प, अग्लो मेकानिकल स्वीङ, म्युजिकल वाटर शोसमेत बनाउने तयारी गरेको सञ्चालक तारानाथ उपाध्यायले जानकारी दिनुभयो । परियोजनाले दशाैं हजार पर्यटक बन्दीपुरमा भित्र्याउने रणनीतिक योजना बुनेको कम्पनीको दाबी छ ।

बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेशन रहनेछ । ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा २०० वारपार गर्न सक्नेछन् । एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गास्वाँराबाट शुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ ।

केबुलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ । केबुलकार परियोजनाका लागि दुई बैठकले कर्जा लगानी गरेका छन् । बैंकिङ पार्टनरको रूपमा नेपाल एसबिआई बैंक र एनएमबी बैंक लिमिटेड छन् । बन्दीपुर केबलकार एण्ड टुरिजमको लागत रु एक अर्ब ६६ करोड ८९ लाख रहेकामा स्वपूँजी र कर्जा अनुपात ३९-६१ रहेको छ । परियोजनामा आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबुलकार एण्ड टुर्स लिमिटेडको २५ प्रतिशत, बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत शेयर रहेको छ ।