शेरबहादुर देउवा सहित काँग्रेसका शीर्ष नेता पोखरा आउने

-



     सफल आवाज    
     चैत्र १२ गते २०७७ मा प्रकाशित



पोखरा, १२ चैत । नेपाल आदिवासी जनजाति संघ तथा आदिवासी जनजाति विभागको संयुक्त आयोजनामा पोखरामा चैत १७ र १८ गते भेलासहित प्रशिक्षण हुने भएको छ ।

भेलालाई नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाल आदिवासी जनजाति विभागका प्रमुख सीता गुरुङले जानकारी दिइन् ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार भेलामा गण्डकीका ११ वटै जिल्लाबाट सहभागिता रहने छ । देशभर ५९ जनजातिमध्ये गण्डकीमा हाल १४ रहेको पाइन्छ ।

भेलामा प्रत्येक जिल्लाबाट ७÷७ जना सहित कुल १ सय ५० जनाको सहभागिता रहने नेपाल आदिवासी जनजाति संघका केन्द्रीय अध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिए ।

कार्यक्रममा काँग्रेसमा आबद्ध जनजातिहरुलाई ऐक्यबद्ध गर्ने र जनजातिको मुद्दा सम्बोधनका लागि नेतृत्वलाई दबाब दिने उद्देश्य रहेको छ । भेला पार्टी कार्यालय चिप्लेढुंगामा हुनेछ ।

पत्रकार सम्मेलनमा आदिवासी जनजाति संघ गण्डकीका अध्यक्ष जीत गुरुङ, नेपाल आदिवासी जनजाति विभागका सदस्य आङछिरिङ शेर्पा लगायतले बोलेका थिए ।