जैविक विषादी प्रयोगतर्फ उन्मुख हुँदै पाँचखालका किसान

-



     राजकुमार पराजुली    
     चैत्र १२ गते २०७७ मा प्रकाशित



काभ्रेपलाञ्चोक, १२ चैत । पाँचखाल नगरपालिकाका करिब एक हजार अगुवा कृषकले एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि (आइपिएम) कृषक पाठशालामा अध्ययन गरेका छन् । उनीहरुले विभिन्न चरणमा १८ महिने २२ थरिका एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि (आइपिएम) कृषक पाठशालामा अध्ययन गरेका हुन् । समय र मौसमको तालिका मिलाएर पढाउनुको एउटै उद्देश्य हो, उनीहरुलाई तरकारी तथा अन्य बालीमा रासायनिक विषादी न्यूनीकरण गर्दै जैविक विषादी प्रयोगतर्फ लैजानु ।

तरकारी तथा अन्य बालीमा विषादी प्रयोग न्यूनीकरण गर्न पाँचखाल नगरपालिकाकै सामुदायिक तथा निजी माध्यमिक विद्यालयका विद्यार्थीलाई समेत यो वर्ष सचेतना कार्यक्रम गरिएको छ । विद्यालय तहदेखि नै विषादीको प्रयोग तथा यसको असरबारे जानकारी गराउँदा निकट भविष्यमा विषादी न्यूनीकरणमा ठूलो मद्दत पुग्ने अपेक्षासहित सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । पाँचखालमा सामुदायिक १३ र निजी सात माध्यमिक विद्यालय छन् ।

लभग्रीन नेपाल नामक संस्थाले मावि तहका विद्यार्थीलाई कक्षामै गएर अनधिकृत विषादी प्रयोग गर्दा मानव स्वास्थ्य, कृषि पर्यावरण प्रणाली तथा वातावरणमा पर्ने असरबारे भिडियो, अडियो तथा अन्य प्रस्तुतिबाट सचेतना गराएको हो । “विद्यालय तहदेखि नै विषादीबारे सचेत गराउँदा निकट भविष्यमै विषादी न्यूनीकरणमा मद्दत पुग्ने उद्देश्यले अभियान सञ्चालन ग¥यौँ”, लभग्रीनका कार्यकारी निर्देशक नारायण ज्ञवालीले भने। उनका अनुसार विषादी न्यूनीकरण अभियानमा कृषकको जागरुकता पाइएको छ । पाँचखाल नगरपालिका–१ चापागाउँका ३३ अगुवा कृषकलाई प्राङ्गारिक मल निर्माणबारे दिइएको तालीम सकिएकाे छ ।

यसअघि उनीहरुलाई हसेरा कृषि अनुसन्धान तथा तालीम केन्द्रमा प्राङ्गारिक कृषिसम्बन्धी पुनर्ताजगी तालीमसमेत दिइएको थियो । पाँचखाल क्षेत्र तथा भारतको केरला राज्यमा केही वर्षअघिसम्म अनधिकृत विषादी प्रयोगबाट परेको असर तथा हाल न्यूनीकरणपछिको अवस्थाबारे भिडियो, अडियो र डकुमेन्ट्रीमार्फत विद्यार्थीलाई जानकारी गराइएको थियो ।

पाँचखालमा आइपिएम, पशु व्यवस्थापन तथा स्वस्थ दूध उत्पादनजस्ता कृषक उपयोगी तालीम लभग्रीनले दिँदै आएको छ । संस्थाले वातावरणमैत्री एकीकृत दिगो विकास परियोजनाअन्तर्गत पाँचखाल क्षेत्रका कृषकलाई तरकारीमा विषादी तथा रासायनिक मल न्यूनीकरण गरी कृषकलाई प्राङ्गारिक कृषि उत्पादनतर्फ लैजान विगत दुई वर्षदेखि निरन्तर प्रयासरत छन् ।

पाँचखाल नपा–७ का शिवराज श्रेष्ठले रासायनिक विषादीको विकल्पमा आफैँ जैविक विषादी बनाएर बालीमा हाल्ने गरेका छन् । “जैविक विषादी र मल बनाउन घरमा गाईवस्तु थपेको छु”, उनले भने । पाँचखाल नपा–६ का कृषक सीताराम दुलाल र केदार ढुङ्गानाको पनि बालीमा जैविक विषादी प्रयोग गर्ने तौरतरिका एउटै छ । “स्थानीयस्तरमा उपलब्ध जडीबुटीबाट जैविक विषादी तयार गरेर बालीमा प्रयोग गर्दा स्वस्थकर र उत्पादन लागत कम हुने गरेको छ”, ढुङ्गानाले भने । उहाँ आफैँले आफ्नो खेतबारीको माटो परीक्षणसमेत गर्छन् । श्रेष्ठले आफ्नो २० रोपनी खेतबारीमा जैविक विषादी प्रयोग गरी केही वर्षदेखि प्राङ्गारिक तरकारी ‘सुरक्षित उत्पादन’ गर्दै आएका छन् ।

पाँचखालका कृषक आइपिएम कक्षामा सिकेर आफैँले तयार गरेको जैविक विषादी प्रयोग गर्न थालेपछि पाँचखाल क्षेत्रका तरकारीलगायत बालीमा रासायनिक विषादी प्रयोगमा सचेत बन्दै न्यूनीकरणतर्फ लागेको बताइन्छ । यसैबीच सरकारी तथा निजीस्तरबाट सञ्चालित विभिन्न सेचतना कार्यक्रमले पाँचखालमा विषादी प्रयोग कम हुँदै गएको तथ्याङ्कले देखाएको छ । पाँचखालमा हाल उत्पादित तरकारीजन्य बाली विषादी रुकावट अवशेषको मापदण्डभित्रै रहेकाले ‘सुरक्षित उत्पादन’ भन्न थालिएको पाँचखाल नपा कृषि शाखाका कृषि प्रविधिक ईश्वर अधिकारीले बताए ।