ज्योती लाइफको शेयर आज बाँडफाँड हुँदै, कतिले पाउलान् ?

-



     सफल आवाज    
     चैत्र १३ गते २०७७ मा प्रकाशित



काठमाडाैं, १३ चैत । ज्योती लाइफ इन्स्योरेन्सको आइपीओ आजबाट बाँडफाँड हुँदैछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज दिउँसो साढे १२ वजेदेखि शेयर बाँडफाँड गरेकाे छ ।

ज्योती लाइफको गएको फागुन २१ मा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरिएको थियो । उक्त शेयरमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि, ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषका लागि र ५९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।

प्रचलित निर्देशिकाको व्यवस्था अनुसार कम्पनीको शेयर बाँडफाँड कम्तिमा १० कित्ताको दरले वितरण गर्दा ५ लाख ९४ हजार लगानीकर्ताले पाउने देखिन्छ । १८ लाख ४ हजार ६४८ जनाको आवेदनबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता शेयरका लागि आवेदन परेको थियाे । मागभन्दा अत्याधिक आवेदन परेकोले १२ लाख बढी लगानीकर्ताहरु शेयर पाउनबाट बञ्चित हुने भएका छन् ।

ज्योती लाइफको चक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । शेयर बाँडफाँडपछि २ अर्ब २० करोड रुयैयाँ पुग्ने भएको छ । अहिले कम्पनीको अधिकृत पूँजी ३ अर्ब रहेकाे छ ।