ज्योती लाइफको आइपीओ बाँडफाँड सकियो, १२ लाख ४८ हजार बढी आवेदकको हात रित्तै

-



     सफल आवाज    
     चैत्र १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ चैत । ज्योती लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आइपीओ आज बाँडफाँड गरिएको छ । ज्ञानेश्वर, काठमाडौंमा रहेको इन्स्योरेन्सकाे कार्यालयमा सर्वसाधारणका लागि निष्काशन गरिएको शेयर वितरण गरिएको हो ।

शेयर बाँडफाँड गोलाप्रथाबाट गरिएको थियो । आइपीओमा १८ लाख ४२ हजार ४७० जनाको आवेदन परेको थियो । त्यसमा ४४ हजार ६४५ जनाको आवेदन बदर भएका र बाँकी रहेको १७ लाख ९७ हजार ८३५ सदर भएका थिए ।

५ लाख ९४ हजार आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले शेयर प्राप्त गरेका छन् । बाँकी १२ लाख ४८ हजार ४१६ आवेदनकर्ताको हात रित्तो भएको छ । ज्योती लाइफको प्रतिकित्ता १०० रुपैयाँ मूल्य अंकित दरका ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । जसमा ३ लाख ३० हजार कित्ता कर्मचारी को लागि, ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषका लागि र बाँकी ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याईएको थियो ।

आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडकाे वेबसाईट www.iporesult.cdsc.com.np मा गएर हेर्न सकिने भएको छ । यस्तै ज्योती लाइफको वेबसाईट तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाईटबाट पनि हेर्न सकिने भएको छ ।