निर्वाचनमा जाँदा लोकतन्त्र सङ्कटमा पर्दैन : प्रधानमन्त्री

-



     सफल आवाज    
     चैत्र १७ गते २०७७ मा प्रकाशित



काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलिले मुलुक निर्वाचनमा जाँदा लोकतन्त्रलाई कुनै सङ्कट नपर्ने बताएका छन । रिपोर्टर्स क्लब नेपालको २३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले मध्यावधि निर्वाचन घोषणा गरेपनि अदालतको फैसलाका आधारमा प्रतिनिधिसभा पुनःस्थापना भएकाले आफूले त्यसलाई मानेर अघि बढेको बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै खतरा नरहेको उल्लेख गर्दै उनले चुनाव गर्दा लोकतन्त्रलाई खतरा कसरी पर्छ भन्ने प्रतिप्रश्न गरे । उनले भने, “प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि अबको २० महिनामा नियमित प्रक्रियाबाटै पनि चुनाव हुन्छ । त्यसले कसरी लोकतन्त्रलाई खतरामा पार्छ ?” उनले केही नेताको राजनीतिक सङ्कटमा परेको भए पनि मुलुकलाई सङ्कट नपरेको स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले पुनःस्थापनाको फैसला हुँदा विजययात्रा गर्नेहरुले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतालाई साविककै अवस्थामा फर्काउने फैसला गर्दा विरोध गरिनु विरोधाभास भएको प्रतिक्रिया दिए । एमाले अध्यक्ष ओलीले मिसन पत्रकारिताका नाममा हुने विकृति रोकिनुपर्ने सुझाव दिँदै रिपोर्टस क्लबलाई शुभकामना दिएका थिए ।