रुरु जलविद्युतको आइपीओमा पर्याे पहिलो दिनमै १० गुणा बढी आवेदन

-



     सफल आवाज    
     चैत्र २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० चैत । रुरु जलविद्युत परियोजनाको आइपीओ निष्काशनकाे पहिलो दिनमै आज लगानीकर्ताहरुको आक्रामक सहभािगतासहित आवेदन परेको छ । शेयरको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आज साँझसम्म २ लाख ६७ हजार ९४३ जनाले ४१ लाख २६ हजार कित्ता शेयर खरिद गर्नका लागि आवेदन दिएका छन् ।

कम्पनीले आजदेखि प्रिमियर २० रुपैयाँ थप गरेर प्रति कित्ता १२० को दरले ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो । सर्वसाधारणका लागि निष्काशन गरिएको कुल शेयरमध्ये पहिलो दिन आज परेको आवेदनलाई हेर्दा १० गुणा बढी हो ।

रुरुले ८ हजार १५४ कित्ता शेयर कर्मचारीको लागि, २० हजार ३८५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएकोमा सर्वसाधारणका लागि ३ लाख ७० हजार १६७ कित्ता रहेको छ । आइपीओमा आवेदन दिनका लागि छिटोमा चैत २४ र ढीलोमा वैशाख ३ गते सम्मको मिति तोकिएको छ ।

कम्पनीको हालको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ । आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्ने भएको छ ।