कालिका लघुवित्तको भयो मूल्य समायोजन, वैशाख ७ गते साधारण सभा आव्हान

-



     सफल आवाज    
     चैत्र २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २२ चैत । कालिका लघुवित्त बित्तीय संस्थाको शेयरमूल्य केएमसिडिबी संकेतमा नेप्सेमा समायोजन भएको छ । नेप्सेले कालिकाको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । यसपछि कालिका लघुवित्तको शेयरमूल्य १ हजार २९१ तोकिएको छ ।

गएको बिहिबार कालिकाको शेयरमूल्य प्रतिकित्ता १ हजार ४२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । अघिल्लो दिनको अन्तिम मूल्यमा कारोबार भएको आधारमा शेयरमूल्य समायोजन गरिएको हो । कालिका लघुवित्तको १० औं तथा ११ औं साधारण सभा वैशाख ७ गते आव्हान गरिएको छ ।

साधारण सभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने बोनस शेयर वितरणको प्रस्ताव पारित गरिने भएको छ । संस्थापक समूहको ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको ४५.४८ प्रतिशत कायम गर्ने तथा अन्य उपयुक्त लागेका लघुवित्तसंग मर्जर वा एक्विजिशनको कार्य गर्नको लागि संचालक समितिलाई अख्तियार दिने लगायतका प्रस्ताव पारित गरिने भएको छ ।

कालिका लघुवित्तको चुक्ता पूँजी २५ करोड २३ लाख ३० हजार रुपैयाँ रहेको छ । २ करोड ५२ लाख ३३ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणपछि संस्थाको चुक्ता पूँजी २७ करोड ७५ लाख ६३ हजार रुपैयाँ पुग्ने भएको छ ।

साधारणा सभा पोखराको होटल टास्क इन्टरनेशनल प्रालिको सभाहलमा बिहान ८ वजे शुरु हुने भएको छ ।