
काठमाडौं, २८ चैत । आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि नीतिगत सुधार गर्दै निर्यात प्रवर्धनका लागि साझा प्रयास गर्न सरकार र निजी क्षेत्र सहमत भएका छन् । निर्यात व्यवसायी महासङ्घद्वारा आयोजित समारोहमा सहभागी नेपाल सरकारका वरिष्ठ मन्त्री एवम् निजी क्षेत्रका प्रतिनिधिले साझा प्रयास गर्ने हो भने आगामी पाँच वर्षभित्र निर्यातलाई साता गुणामा वृद्धि गर्न सकिनेमा जोड दिए ।
नेपाल उपभोक्ता मात्रै नभई उत्पादक र निर्यातक समेत हुनुपर्नेमा साझा धारणा राख्दै त्यसमा सरकारको तर्फबाट सुधार गर्नुपर्ने सबै कानूनी, नीतिगत एवम् प्रक्रियागत झन्झट हटाउने प्रतिवद्धता समेत व्यक्त भएको छ । आयातका तुलनामा निर्यात असाध्यै न्यून भएको, व्यापार घाटा बढिरहेको सन्दर्भमा त्यसलाई सुधार गर्न सबैको साझा प्रयासको खाँचो रहेको समेत उनीहरुको भनाइ छ ।
समारोहमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल बढाएर आर्थिक समृद्धिको मार्गमा सरकार अगाडि बढिरहेको बताए । उनले समृद्धिका लागि निर्यात पनि एउटा महत्वपूर्ण औजार भएकाले सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने विश्वास दिलाए । उनले महासङ्घको तर्फबाट प्राप्त हुने सुझावलाई कार्यान्वयन गर्न सरकार सदा तयार रहेको समेत बताए । मन्त्री पौडेलले निर्यात प्रवर्धनका लागि सरकारले के कस्ता विषयलाई सम्बोधन गर्नुपर्ने हो, त्यसको एकमुष्ठ खाका पेश गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।
सरकार निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न तयार रहेको र व्यवसायीको मनोबल उच्च बनाउन समेत लागिपरेकाले सबै खालका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । कोभिड महामारीपछि मुलुकको अर्थतन्त्र पुनरोत्थान हुने दिशामा अगाडि बढिरहेको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेटका भएका कतिपय विषय कार्यान्वयन भएको र केही बाँकी भएका विषय पनि आगामी आवको बजेटमा सम्बोधन गरिने अर्थमन्त्रीको भनाइ थियो ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निर्यात बढाउनका लागि सरकारले सम्भाव्यताको अध्ययन गरेर योजनावद्ध रुपमा काम गरिरहेको र त्यसलाई अझै विस्तार गर्ने उल्लेख गरे । नेपाल उपभोक्ता मात्रै नभई उत्पादक समेत हुने दिशामा अग्रसर रहेको भन्दै व्यापार तथा वाणिज्यका क्षेत्रमा रहेका समस्यालाई क्रमशः समाधान गर्दै जाने स्पष्ट पारे ।
अल्पविकसित देशको हिसाबले हामीले धेरै सुविधा पाएको भएपनि त्यसलाई के कति मात्रामा हामीले उपभोग ग¥यौं भन्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ । नेपाललाई चीन, भारत, यूरोपेली सङ्घ तथा अमेरिकाले विशेष सहुलियत दिएको भएपनि हामीले त्यसलाई पूर्णरुपमा सदुपयोग गर्न नसकेको परराष्ट्रमन्त्रीको भनाइ छ ।
सरकारले विभिन्न देशसँग गरेको वाणिज्य सन्धिको पुनरावलोकन गर्न लागेको र भारतसँग पनि मिहिन तरिकाले सम्वाद भइरहेको जानकारी दिए । सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना प्रविधिको अधिकतम् उपभोग गर्दै इ–कमर्स तथा इ–विजनेशनको क्षेत्रमा लाग्न उद्योगी व्यवसायीलाई आग्रह गरे । उनले सरकार डिजिटल नेपालको फ्रेमवर्क बनाएर अगाडि बढिरहेको र छिट्टै डिजिटल पेमेन्ट कम्पनी सञ्चालनमा आउन लागेको जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि चालु आवको बजेट र मौद्रिक नीतिमा छुटेका विषयलाई आगामी आवमा समावेश गर्न आग्रह गरे । उनले आर्थिक कुटनीतिका माध्यमबाट निर्यात प्रवद्र्धन गर्न र नेपालको प्रतिनिधित्व गरेर विदेशमा जाने कुटनीतिक अधिकारी तथा मिशन प्रमुखलाई सोहीअनुसारको भूमिका दिन र मूल्याङ्कनको आधार बनाउन आग्रह गरे ।
महासङ्घका अध्यक्ष रामबहादुर गुरुङले निर्यात बढाउन सरकार र निजी क्षेत्रले लक्ष्य नै निर्धारण गरेर अगाडि बढ्नुपर्ने बताए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



