मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार धरापमा, राजमोकाे समर्थन फिर्ता

-



     सफल आवाज    
     वैशाख १ गते २०७८ मा प्रकाशित



पोखरा, १ वैशाख । गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले दिँदै आएको समर्थन फिर्ता लिएको छ ।

पार्टी अध्यक्ष अध्यक्ष चित्रबहादुर केसीले बुधबार प्रेस वक्तव्य नै जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रेस वक्तव्य उल्लेख छ ।

जनमोर्चाले यसअघि प्रतिनिधिसभा विघटन गरेका केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको घोषणा गरे पनि गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारको समर्थन भने फिर्ता लिएको थिएन ।

यद्यपि, गण्डकीमा ओलीका समर्थक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ नेतृत्वको सरकार ढल्ने वा नढल्ने भन्ने विषयमा टीकाटिप्पणी सुरु भइसकेको थियो ।

गण्डकीमा हाल नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार छ । गत चैत २५ मा माओवादी केन्द्रका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएपछि सरकार धरापमा परेको थियो । यद्यपी माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिइएको छैन । समर्थन फिर्ता नलिएता पनि नयाँ सरकारका लागि नेपाली काँग्रेस माओवादी र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चाको साथ खोजी रहेका छन् । वार्ताका लागि काँग्रेसले कुमार खड्का संयोजकत्वमा डोबाटे विश्वकर्मा र मणिभद्र शर्मा कँडेल सदस्य रहेको वार्ता समिति नै गठन गरेको छ ।

यसबारेमा २ दिन अघि काँग्रेस संसदीय दलको बैठक बसेको थियो । राष्ट्रिय जनमोर्चालाई केन्द्रबाट निर्देशन आउनासाथ बैशाख पहिलो सातामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने काँग्रेसका नेता कुमार खड्का बताउँछन् । सो तयारी हुँदाहुँदै बुधबारमात्रै राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ताको औपचारिक निर्णय गरेको हो । राजमोका गण्डकीमा ३ सांसद छन् ।

यसैबीच, राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले प्रक्रिया पुर्‍याएर आएपछि बल्ल होला नि भने । मंगलबारसम्म संसदीय दलका नेता थापाले बाहिर जे जस्तो टीकाटिप्पणी आए पनि मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारलाई समर्थन जारी रहने स्पष्ट पार्दै आएका थिए ।

जनमोर्चाले एकाएक समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार धरापमा परेको छ।

‘केन्द्रमा हामीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रदेशहरूमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेका सरकारहरूलाई समर्थन कायमै राखेका थियौं,’ अध्यक्ष केसीले जारी गरेको वक्तव्यमा छ, ‘त्यसको अर्थ हामीले वामपन्थीको सरकारमा जोड दिएका हौं । गण्डकी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) अलग भएको स्थितिमा त्यहाँ ओली पक्षको मात्र सरकार हुन्छ । गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ । त्यसका क्रियाकलापहरुले प्रतिगमनलाई मद्दत पुग्छ । त्यसैले सरकारविरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावमा हाम्रो समर्थन हुनेछ ।’

उनले माओवादी केन्द्र र नेपाली काँग्रेस जुन आए पनि उनीहरुबीच बन्ने समीकरणको कुरा हो भन्दै त्यसमा आफ्नो समर्थन रहे पनि तत्काल सरकारमा सहभागी नहुने उनले स्पष्ट पारेका छन्।

मुख्यमन्त्री गुरुङले सरकार धरापमा परेपछि जनमोर्चाका सांसदलाई मन्त्री पद दिने लालसा देखाउँदै आएका थिए । तैपनि आन्तरिक जोडघटाउ मिलेको थिएन । यद्यपि उनी सरकार टिकाउने कसरतमै छन् ।

गण्डकीमा एमालेका २७, माओवादी केन्द्रका १२ र स्वतन्त्र निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) को समर्थनमा दुइतिहाइको सरकार छ । माओवादी केन्द्रका मन्त्रीको राजीनामापछि नयाँ सरकार गठनका लागि एमाले इतरका दलहरु लागिपरेका छन् ।

गण्डकीमा ६० सांसदमध्ये नेकपा एमालेको २७, नेपाली काँग्रेस १५, माओवादी केन्द्र १२, राष्ट्रिय जनमोर्चा (राजमो) ३ र जनता समाजवादी पार्टी (जसपा) २ र स्वतन्त्र सांसद १ छन् । काँग्रेस नेतृत्वको सरकार बनाउन आफ्ना १५, माओवादी केन्द्रका १२ र राष्ट्रिय जनमोर्चाका ३ र जसपाका २ मिलेर सरकार बनाउन सक्छ ।

सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । अहिलेकै सरकार बचाउने वा नयाँ सरकार बनाउने भन्ने मुख्य निर्णायक राष्ट्रिय जनमोर्चा थियो ।