अफगानिस्तानबाट सबै अमेरिकी सेना सेप्टेम्बर ११ भित्र फिर्ता गर्ने बाइडेनको तयारी

-



     सफल आवाज    
     वैशाख १ गते २०७८ मा प्रकाशित



वासिङ्टन, १ बैशाख । अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त मुलुक अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता गर्ने तयारी गरेकाे उनी निकट अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकी इतिहासमै अमेरिकी फौज कुनै मुलुकमा झण्डै २० वर्ष लडेको यो पहिलो घटना हो । कतिपयले अमेरिकी सेनाको अफगानिस्तानबाट फिर्ती भएसँगै तालिबानको विजयका रुपमा लिएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तालिवानी समूहसँग गरेको सम्झौता पश्चात् अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुन थालेको थियो । झण्डै १२ हजार सैनिकमध्ये हाल अफगानिस्तानमा करिब २ हजार ५०० जना मात्र रहेका छन् । तर अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि अमेरिकी सेनाको फिर्ती के हुने भन्नेमा अन्यौल भएपछि पाँच महिनायता अमेरिकी सेना फिर्ता हुनेक्रम रोकिएको छ ।

झण्डै ४० वर्षदेखि युद्धमा रहेको अफगानिस्तानमा शान्ति ल्याउने प्रयास स्वरुप टर्कीले सर्वपक्षीय अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गर्ने घोषणा लगत्तै सेना फिर्तीबारे अमेरिकी अधिकारीहरुको यस्तो भनाई सार्वजनिक भएको हो । यद्यपी तालिबान समूहले उक्त सम्मेलन बहिस्कार गर्ने बताएका छन् । अफगानिस्तानबाट अमेरिकी फिर्तीको घोषणा भने राष्ट्रपति बाइडेनले बुधबार गर्नेछन् ।

यद्यपि अमेरिकाले अल–कायदा वा इस्लामिक स्टेट अतिवादी समूह समेतका कतिपय परिस्थितिको सामना गर्न सानो संख्यामा सेना राख्ने बारेमा केही समयदेखि विचारविमर्श गरिरहेको थियो । अन्त्यमा, राष्ट्रपति बाइडेनले अन्य विकल्पमाथि छलफल गरे पनि अन्ततः सम्पूर्ण सैनिक फिर्ता गर्ने निष्कर्षमा पुगेकाे एक जना वरिष्ट अमेरिकी अधिकारीले बताएका छन् ।