शिक्षाको विकासका लागि निरन्तर लागिरहेको छु : पालिखे

-



     सफल आवाज    
     वैशाख २ गते २०७८ मा प्रकाशित



पोखरा, २ वैशाख । विद्यालयमा कक्षा शुरुहुनु अघिको समय थियो । कुमुदिनी होम्सका विद्यार्थीहरु एसेम्वलीका लागि प्राङगणमा पंक्तिवद्ध भएर उभिरहेका थिए । सबैभन्दा अग्रभाग पूर्व फर्किएर उभिएका ११ विद्यार्थी थिए ।

उनीहरु ७ जना वाराही आधारभूत विद्यालय माछापुच्छ्रे गाउँपालिका २ खादरजुङ्गका प्रधानअध्यापक रामप्रसाद आचार्यसंगै थिए । अन्य ६ जना हिमालयन आधारभूत विद्यालय पोखरा महानगरपालिका १९ पुरञ्चौर, लौसिटाकुराका जो प्रधानअध्यापक माधवप्रसाद गौतमसंगै थिए । सबै ११ विद्यार्थीले चश्मा लगाएका थिए ।

फोटोः सुदर्शन रञ्जित

केहि दिन अगाडी दुवै विद्यालयका ६५ जना विद्यार्थीको निःशुल्क आँखा जाँच गरेपछि उनीहरुमध्ये ११ जनाले चश्मा लगाउनु पर्ने डाक्टर सोभित पौडेल र नेत्र सहायक अनुप कुमार सिंहको सल्लाह बमोजिम आज उनीहरुलाई चश्मा वितरण गरिएको कुमुदिनी होम्सका अध्यक्ष, शिक्षासेवी अशोक पालिखेले बताए ।

बिहानको १० वज्यो र विद्यालयका विद्यार्थी कक्षा कोठामा गएपछि हामीले पालिखेलाई सोध्यौंं कि दूरदराजका विद्यालयको पढाई लेखाईको लागि तपाँईको दिलचस्पि किन ? पालिखेले सफल आवाजलाई भने, कुरा यस्तो हो काम गर्ने त स्थानियले नै हो । हामीले त सहजिकरण मात्रै गरिदिएका हौं । हामीले दुवै विद्यालयमा बितेका ७ वर्षदेखि हरेक वर्ष विद्यार्थीको लागि वर्षभरिलाई पुग्ने स्टेशनरी, पोशाक, दिवा खाजाको व्यवस्था गर्दै आएका छौं । विद्यालयमा आवश्यक मर्मत, शौचालय मर्मत र फर्निचर सहयोग गर्दै आएका छौं । यसका अलावा हामीले मौजा र काहुँको कालीका माविमा फर्निचर सहयोग गयौं ।

हिमालयन र वाराही विद्यालय दुवै राम्रा विद्यालय तर श्रोत साधनको अभावमा चल्न नसक्ने अवस्था देखेपछि सहयोग गर्न मन लाग्यो, पालिखेले भने, यो सामाजिक उत्तरदायित्व पनि हो । सहयोगि कुबेराबाट तोकिएर आएको सहयोग विद्यालयसम्म पुर्याउने अवसर हामीले पायौं । हाम्रो वितरण प्रणाली फरक छ । एक कक्षाकालाई १ पेन्सिल, २ कक्षाकालाई २ ईरेजर, ३ कक्षाकालाई कटर र ४ कक्षालाई डटपेन र पाँचभन्दा माथिका लागि एक एक वटा कपि माग्छौं । हाम्रा १३ सय विद्यार्थीबाट ६५ विद्यार्थीको लागि वर्षभरी पुग्छ । अर्को कुरा पुषमा विद्यालयको दिवशको अवसरमा पनि कुमुदिनीले आफ्नो तर्फबाट सहयोग थप्दै आएको ।

शुरुको अवस्था दर्दनाक नै थियो । विद्यार्थी डराएर झोलुंगे पुल पार गरेर विद्यालय जानुपर्ने अवस्था थियो । पालिखेले भने, मैले नै हिमालयन प्राविमा जानको लागि ट्रष्टको पुल बनाईदिएँ र विद्यालयमा आवश्यक मर्मतको काम गरें । कोरोनाको कहरको समय छदैंछ । लकडाउन खुलेपछि पोखराबाट डाक्टर, प्राविधिक लगेर विद्यार्थीको तथा अभिभावकको पनि आँखा जाँच र निःशुल्क औषधी वितरण गरियो । खाद्यान्नको अभावलाई केहि हदसम्म पूरा गर्न सहयोग लिएर गयौं ।

गाउँमा पनि समय अनुसारको पढाई । विद्यार्थीलाई नयाँ नयाँ इनोभेसनतर्फ लगाव लगाउन र दक्ष विद्यार्थी उत्पादन गराउन मैले नै दुवै विद्यालयका शिक्षकलाई मन्टेसरीको तालिमको व्यवस्था मिलाएँ । पालिखेले गाउँका विद्यालयमा पनि प्रविधिमैत्री पढाईको पक्षमा आफु रहेको र मुख्यतः सरकारले पूर्वाधार विकासमा ध्यान नदिएकोमा दुःख व्यक्त गरे । उनले भने, कोरोनाको कहर परिरहेको बेलामा पोखरामा पहिलो पटक गएको बैशाख २२ देखि अनलाईन कक्षा शुरु गर्दा महानगरको शिक्षा महाशाखाले नै अवरोध गर्न खोज्यो । पुससम्म राम्रोसंग अनलाईन कक्षा संचालन गरेको, दुई पटक अनलाईन तथा ३ पटक विद्यार्थीको भौतिक उपस्थितमा परिक्षा पनि लिएको पालिखेले बताए ।

असार महिनादेखि त हामीले शिक्षकलाई पूरा तलव दिईरहेका छौं । पालिखेले भने, विद्यालयमा दक्ष शिक्षक भए मात्रै पढाई पनि अव्वल हुने भएकोले भारतको मुम्बई तथा काठमाडौंबाट विज्ञहरु ल्याएर तालिम दियौं । यसको सबै व्ययभार विद्यालयले नै व्यहोरेको हो ।

काठमाडौंपछि नेपालमै पोखरामा आईपीसी इन्टरनेशनल प्राईमरी करिकुलम लगाएको सुनाउँदै पालिखेले भने, हाम्रा विद्यार्थी राष्ट्रिय, अन्तराष्ट्रिय मेडल प्राप्त गर्ने भईसकेका छन् । हालै १३ विद्यार्थीले ब्राउन्ज मेडल प्राप्त गरेका छन् । केहि दिनअघि काठमाडौंमा सम्पन्न वक्तृत्व कलामा २०० विद्यालयका विद्यार्थीलाई पछि पार्दै आफ्नो विद्यालयले प्रथम स्थान हाँसिल गरेको उनले स्मरण गरे ।

शिक्षा सेवामा लागिरहँदा सन्तुष्टि मिलेको छ ? भन्दा पालिखेले भने, यो प्रश्न त मलाई जटिल लाग्छ तर कुरा के हो भने सन्तुष्टि भयो भनियो भने त विकास नै हुँदैन नि । म त विकासको लागि सधैं असन्तुष्ट हुने मान्छे हुँ उनले भने । नयाँ नयाँ इनोभेसन गर्न, कार्यक्रम कस्तो ल्याउने, अनलाईन पढाई वा तालिमलाई व्यवस्थित कसरी गर्ने ? भनेर ध्यान नै त्यतै गईरहेको हुन्छ । पढाईको साथसाथै विद्यार्थीलाई हामीले उनीहरुको रुची अनुसार संगीत, नृत्य, वक्तृत्वकला, खेलकुदलगायतका क्षेत्रमा सहभागि गराईरहेका छौं ।

हिमालयन माविका प्रधानाध्यापक माधवप्रसाद गौतमले आफ्नो विद्यालयमा पालिखे सरको सहयोग नभएको भए विद्यालय संचालन गर्न नै मुस्किल हुन्थ्यो तर त्यसो भएन उहाँले सहयोग गर्नुभएकोले विद्यालयको पढाई राम्ररी संचालन भईरहेको छ । उनले भने, अशोक सरलाई हामीले उहाँको योगदानको लागि भन्ने शव्द नै छैन उहाँ त देवता नै हो ।

वाराही आधारभूत विद्यालय माछापुच्छ्रे गाउँपालिका २ खादरजुङ्गका प्रधानाध्यापक रामप्रसाद आचार्यले भने, हाम्रा विद्यार्थी एकदमै विपन्न परिवारका छन् । गरिब विद्यार्थी पढ्न आउँछन् । सरकारले ४०० रुपैयाँ छात्रवृत्तिले वर्षभरी पुर्याउने भन्छ, अंग्रेजीमा पढाउ भन्छ तर कसरी ? एक सेट पाठ्यपुस्तकको २२०० देखि २५०० पर्छ विद्यार्थी कसरी पढ्छन् ? यस्तो कठिन अवश्थामा पालिखे सरले सहयोग गरिरहनु भएको छ, हामीलाई पढाउन पनि जाँगर चलिरहेको छ । आचार्यले पनि गौतम सरको जस्तै मनकारी कुरा व्यक्त गरे, हाम्रा विद्यालयको लागि पालिखे सर भगवान जसरी नै आउनु भएको छ ।

फोटोः सुदर्शन रञ्जित