
पोखरा, ३ वैशाख । राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) राजमार्गको कास्कीस्थित हेमजा खण्डको निर्माण चालु आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पोखरा–२५ याम्दीबाट घट्टेखोलासम्मको १२ दशमलव दुई किलोमिटर सडकमा अहिले धमाधम कालोपत्र गर्ने काम भइरहेको छ । साविकको पोखरा–बाग्लुङ राजमार्गको स्तरोन्नति गरी फराकिलो बनाएर यतिबेला कालोपत्र शुरु गरिएको छ ।
गत असोजभित्रमा आयोजना सम्पन्न गर्नुपर्नेमा बन्दाबन्दीलगायतका कारणले काममा ढिलाइ भए पनि आगामी असारभित्रमा बाँकी काम सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको मध्यपहाडी राजमार्ग आयोजनाका इञ्जिनीयर अनन्त बरालले बताए । सो खण्डमा गत पुसदेखि सडक कालोपत्र गर्न शुरु गरिएकामा हालसम्म आधाभन्दा बढी सडक कालोपत्र गरेर सकिएको छ ।
‘चालु आर्थिक वर्षमा यस खण्डको बाँकी सबै काम सम्पन्न गर्ने लक्ष्यअनुसार अहिले कालोपत्रको कामले तीव्रता पाएको छ । अहिलेकै गतिमा काम गरेर बाँकी अवधिमा आयोजना सम्पन्न गर्न लागिपरेका छौ,’ इञ्जिनीयर बरालले भने । मध्यपहाडी आयोजनाअन्तर्गत घट्टेखोलाबाट पर्वत जिल्लाको सीमा नयाँपुलसम्मको काम सकिएको छ । याम्दीबाट घट्टेखोलासम्म शुरुमा एक तहको काम सकेर त्यसपछि अर्को लेनको काम गरिने आयोजनाले जनाएको छ ।
उनले भने, ‘यात्रुलाई सहज होस् भनेर हामीले पहिलो चरणमा एकतर्फी काम सम्पन्न गर्न लागिपरेका छौँ । सुँइखेतमा दुईतर्फ सकिए पनि ३ किमी एकतर्फी काम बाँकी छ, त्यसलाई पूरा गर्दछौँ ।’
मध्यपहाडीको कास्की याम्दीबाट नयाँपुलसम्मको ३७ किमी सडक तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी तीन भागमा विभाजन गरेर विसं २०७४ असारमा २ अर्ब ९३ करोड ६६ लाख लागतमा ठेक्का सम्झौता गरिएको थियो ।
याम्दीबाट सुँइखेतफाँटसम्म स्वच्छन्द इलाइट जेभीले ९८ करोड ७९ लाख ६१ हजार तथा सुँइखेतबाट घट्टेखोलासम्म शर्मा एण्ड कम्पनीले ९८ करोड १२ लाख ५० हजार लागतमा कामको जिम्मा पाएका थिए ।
त्यसैगरी घट्टेखोलाबाट नयाँपुलसम्मको २६ किमी दूरीमा श्रेष्ठ दिवा एपेक्स कन्स्ट्रक्शनसँग रु ९६ करोड ७४ लाख ११ हजार १०७ लागतमा मध्यपहाडी लोकमार्ग आयोजना पर्वतले ठेक्का सम्झौता गरेको थियो ।
राजमार्ग ६ लेन (३० मिटर) चौडाइ तथा ३ मिटरको डिभाइडर (मेडियन) तथा दायाँ–बायाँ दुई÷दुई मिटरको नाला निर्माण गरिएको छ ।
पहाडी धरातलका कारण घट्टेखोलाबाट नयाँपुलसम्म भने दुई लेनको छ । आयोजनाको याम्दीपूर्वको क्षेत्रमा भने सडक एलाइनमेन्टको अझै टुङ्गो लाग्न सकेको छैन ।
लमजुङको सिमाना रुदीदोभानबाट मादी गाउँपालिकाको भैँसेसम्मको १६ किमी खण्डमा चालु आवमा बोलपत्र आह्वान भएर ठेक्का सम्झौतापछि गत महिनादेखि काम शुरु भए पनि भैँसेदेखी याम्दी जोड्ने सडकको अझै टुङ्गो लाग्न नसकेको राससले लेखेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



