विद्यालय बन्द गर्ने अधिकार डिसिसिएमसीलाई, संक्रमण देखिए काठमाडौंमा विद्यालय बन्द गर्नुपर्ने

-



     सफल आवाज    
     वैशाख ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस अति प्रभावित भनी किटान भएका १४ जिल्लाका विद्यालय जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा बन्द वा आंशिक रुपमा खोल्न पाउने निर्णय गरेको छ ।

मन्त्रालयमा शुक्रबार मन्त्री कृष्णगोपाल श्रेष्ठसहितको बैठकले विद्यालय बन्द गर्ने वा खोल्ने निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी नेतृत्वको डीसीसीएमसीलाई दिएको हो । साथै सबै प्रकारका शैक्षिक संस्थाहरुले अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउनुपर्ने, विद्यालयभित्र सभा, सम्मेलन, वार्षिक उत्सव गर्न नपाइने मापदण्ड तोकेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौ उपत्यकाका ३ जिल्लासहित कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गिकरण गरेको छ ।

मन्त्रालयले ती जिल्लाका विद्यालयमा छोराछोरी नपठाउन अभिभावकलाई अपील समेत गरेको छ ।

यसैबीच, काठमाडौं जिल्लामा काठमाडौं महानगरपालिका प्रमुखस्तरको बैठकले विद्यार्थी, शिक्षक तथा कर्मचारीमा संक्रमण भएको पाइए कम्तीमा एक सातासम्म विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण कार्य गर्न आग्रह गरेको छ ।

त्यस्तो अवस्था नभएसम्म विद्यालयले सामाजिक दूरी कायम गर्नुपर्ने मास्क अनिवार्य प्रयोग गर्नुपर्ने, साबुनपानीले राम्रोसँग हात धुने, सेनटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विगतमा जारी मापदण्डको कडाइसाथ पालना गरी अभिभावक समेतको सहमतिमा विद्यालय संचालन गर्न गराउन अनुरोध गरिएको छ ।