व्यवसायी र कालिगढको सम्बन्ध नङ र मासुको जस्तै भए समस्या हुँदैन : सांसद थापा

-


     सफल आवाज    
     वैशाख ४ गते २०७८ मा प्रकाशित


पोखरा, ४ वैशाख । गण्डकी प्रदेश सभाका सदस्य विन्दुकुमार थापाले सुनचाँदी व्यवसायको क्षेत्रमा काम गर्ने कालिगढ र व्यवसायीबीच नङ र मासुको जस्तो सम्बन्ध भए मात्रै सफलता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

पहिला व्यवसाय बाँच्नु पर्यो, व्यवसाय रह्यो भने यस क्षेत्रमा काम गर्ने श्रमिक रहन्छन् । सांसद थापाले भने, हाम्रो उदेश्य व्यवसाय फष्टाउने हुनुपर्छ र त्यसबाट भएको आर्जन श्रमिकलाई चित्त बुझ्दो हुनुपर्छ । यस्तो समन्वय दुबै पक्षबीच भयो भने समस्या पनि आउँदैन ।

स्वर्णकार कल्याण समिति कास्कीले आज पोखरामा आयोजना गरेको १७ औं वार्षिकोत्सव तथा सातौं अधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि सांसद थापाले सुनचाँदीको श्रम क्षेत्रमा देखिएको ज्याला, जर्तिको समस्यालाई संस्थागत पहलबाटै समाधान गन आग्रह गरे ।

व्यवसायी, व्यवसायीक संस्था तथा कालिगढको छलफलबाट टुंगो लगाउन सकिने विषय भएकोले दुबै पक्ष एउटा मध्येविन्दुमा आउन आवश्यक भएको बताए । सांसद थापाले श्रममा लागेका मजदुरले समय सापेक्ष ज्याला, जर्ति पाउनु पर्ने उनीहरुको अधिकार भएको बताउँदै दुबै पक्षको मन नदुख्ने गरी समस्या समाधानको सहजिकरण गर्न आफु पनि तयार रहेको बताए ।

समय धेरै अगाडी बढीसकेको छ । हामी समय अनुसार प्रविधिसंगै काममा लागनौं भने झन् पछि पर्ने, बेरोजगार बन्ने वा विदेशीनु पर्ने समस्या रहने भएकोले अब आधुनिक प्रविधियुक्त संरचनामा जानुपर्ने आवश्यक्ता औंल्याए । यसो गरियो भने हामीलाई बंगालबाट कालिगढ ल्याउनु पनि पर्दैन र रोजगारी गुम्ने खतरा पनि हुँदैन सांसद थापाले भने । हामीसंग मौलिक पहिचान बोकेका गरगहना बनाउने कला पनि भएकोले त्यसलाई पनि जोगाउँदै बजारिकरणमा जोड दिनुपर्ने उनको भनाई थियो ।

सांसद थापाले प्रदेश सरकार, स्थानिय सरकार घरआगनमा भएकोले सुनचाँदी व्यवसायसंग आवद्ध कालिगढको दक्षता अभिवृद्धि गर्न तालिमको व्यवस्था गर्नेतर्फ अग्रसर हुन आग्रह गरे । उनले भने, आवश्यक परेका ठाउँमा सहजिकरण गर्न म पनि तयार छु । अहिलेका कालिगढ भोलिमा ठूला व्यवसायी पनि हुन । सांंसद थापाले भने, अहिले तपाँईहरु लगनशिल र दक्ष भएर कार्य क्षेत्रमा खटिनुहोस् स्वयं तपाँई भोलिका दिनमा रोजगारदाता बन्नुहुनेछ । उनले भने यसकालागि श्रमिक र मालिकबीच नङ र मासुको जस्तो दरिलो सम्बन्ध बनाईरहनु पर्छ ।

कार्यक्रममा सुनचाँदी व्यवसायी संघ गण्डकीका अध्यक्ष चन्द्र किशोर गौतमले बिगतमा चूलो चौकोबाट शुरु भएको गरगहना बनाउने व्यवसाय अहिले शोरुममा पुगेको बताउँदै ज्याला, जर्तिको विद्यमान समस्या समाधानका लागि आफु सकारात्मक भएकोले बार्ताको टेबलबाट समस्या समाधन गर्न सकिने बताए ।

२०६५ सालमा व्यवसायी र कालिगढबीच भएको सम्झौता फेल खाएको नभई त्यसमा केहि परिमार्जनको खाँचो रहेको भने स्वीकार गरे । उनले भने, समस्या रोग हो पालेर नबसि व्यवसायी र कालिगढ दुबैको मर्मलाई बुझेर अगाड बढ्नु पर्छ । उनले आफ्नो लक्ष्य विदेशी कालिगढलाई विस्थापन गर्नका लागि तालिमको आवश्यक्ता भएकोले कालिगढलाई तालिम दिने र पोखरामा ट्रेनिङ सेन्टर चलाउने प्रतिवद्धता व्यक्त गरे ।

स्वर्णकार कल्याण समिति कास्कीका अध्यक्ष भुवन लोहनीले २०६४, २०६५ मा सुनचाँदी व्यवसायीसंग भएको सम्झौता कार्यान्वयन नभएको बताए । हामी गरि खाने मजदुर वर्ग हौं, लोहनीले भने, अहिले पनि माग पत्र पेश गरेका छौं । यो पटक ज्यालाऽ जर्तिको समस्या कागजि रुपमा मात्रै सिमित नहोला भन्ने अपेक्षा रहेको छ ।

कार्यक्रममा राम बहादुर वराल, मन बहादुर राम्जाली, समितिका पूर्व अध्यक्ष राजु गौतम, मणिभद्र विश्कर्मा लगायतले सुनचाँदीका गरगहना बनाउने कालिगढ र व्यवसायीको संरक्षण र हितका लागि सरकारले स्पष्ट नीति ल्याउनु पर्ने माग गरे । उनीहरुले भने, एउटै नीति अनुसार सबै चल्ने अवस्था आयो भने ज्याला जर्ति लगायतका सबै समस्या समाधान हुने भएकोले सरकारले एउटै नीति ल्याउनु पर्छ ।

सोहि अवसरमा समितिले संस्थाका संस्थापकहरु किरण कालिराज, शिव सुनार, सुवर्ण गहतराज, कमल प्रसाद, मान बहादुर सुनार, किसान सुनार, निवर्तमान अध्यक्ष राजु गौतम, सल्लाहकार भीम सेन्चुरी, दीपक घिमिरे, राजेन्द्र शाक्य, मन बहादुर विक, रुपलाल सुनार, लोकेश सेन्चुरी र कासि सुनारलाई सम्मान गरेको थियो । यस्तै रामचन्द्र लोहनी, राजकुमार घिमिरे, ज्योतिन्द्र घिमिरे र धिरज विकलाई पनि सम्मान गरेको थियो ।