कालिका लघुवित्तको वित्तीय अवस्थामा चमत्कारिक सुधार, खुद मुनाफा ६ कराेड नाघ्याे

-



     सफल आवाज    
     वैशाख ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ वैशाख । कालिका लघुवित्त वित्तीय संस्थाले मूनाफा आर्जनमा चमत्कारिक सुधार देखिएको छ । अघिल्लो वर्षसम्म उल्लेख्य मूनाफा आर्जन गर्न कमजोर देखिएको कालिका लघुवित्तले यस पटक भने निकै राम्रो सुधार गर्न सफल भएको हो । पछिल्लो समय संस्थाको सञ्चालक समिति र व्यवस्थापनको सकारात्मक भूमिकाको प्रभाब संस्थाको वित्तीय अवस्थामा निकै राम्रो देखिएको छ ।

संस्थाले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार १ हजार ३६४ प्रतिशतले खुद मूनाफा आर्जन गर्न सफल भएको छ । यो वृद्धिदर अन्य संस्थाहरुको तुलनामा निकै ठूलो वृद्धिदर हो ।

संस्थाले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ करोड ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो तथ्यांकसँगै कालिका लघुवित्त निकै वलियो बनेको प्रमाणित भएको छ ।
यतिमात्रै होइन अन्य सूचकहरुमा पनि निकै राम्रो सुधार देखिएको छ । खुद ब्याज आम्दानीसँगै उल्लेख्य खराब कर्जा उठाउन सफल भएसँगै लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो । खुद ब्याज आम्दानी ८९.१९ प्रतिशत बढेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६३ लाख ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७२ लाख ८३ हजार रुपैयाँ धनात्मक भएको छ। चैत मसान्तसम्ममा लघुवित्तले ८ करोड ८१ लाख रुपैयाँ राइट व्याक गरेको छ ।

जसका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार भएको हो ।लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २१.७३ रुपैयाँ बढेको छ ।