नेप्से ३७.५८ अंकले घट्याे, ११ उपसमूह राताम्मै

-



     सफल आवाज    
     वैशाख ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ वैशाख । साताको दोश्रो दिन सोमबार आज पनि शेयर बजारमा सकारात्मक संकेत देखिएन । नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।

नेप्से परिसूचक ३७.५८ अंकले घटेर २६६१.९३ विन्दुमा पुगेको छ । आज अघिल्ला दिनहरुको तुलनामा कारोबार पनि घटेको छ ।

नेप्से १.३९ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ७.०६ अंकले घटेर ४७९.१० विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज कुल २१३ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ४१ लाख ९० हजार ६६१ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ७५ करोड ९४ लाख ५९ हजार ८६० रुपैया बराबरको कारोबार भएको छ ।

आज कुल १३ उपसमूहमध्ये ११ वटा राताम्मै भएका छन् भने दुईमा हरियो लागेको छ । आज शेयर बढेका दुई उपसमूहरुमा हाइड्रोपावर र फाइनान्स रहेका छन् ।

राताम्मै भएका अर्थात शेयर घटेका उपसमूहरुमा बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फन्ड र लगानी उपसमूहहरु रहेका छन् ।