कुश्माबजार पर्यटकले भरिभराउ

-



     सफल आवाज    
     वैशाख ७ गते २०७८ मा प्रकाशित



कुश्मा, ७ वैशाख । धार्मिक तथा पर्यटकीय गन्तव्य मुस्ताङ जाने आउने पर्यटकका कारण यतिबेला पर्वत सदरमुकाम कुश्माबजार भरिभराउ हुन थालेको छ ।

दैनिक सयौंको संख्यामा पर्यटक कुस्मा बजार हुँदै ओहोरदोहोर गर्ने गरेका छन् । सडकमा आन्तरिक र बाह्य पर्यटक जति नै दौडिए पनि त्यसको सम्बन्ध कुस्मासँग थिएन । कुस्मासहित पर्वतमा रहेका प्राकृतिक पर्यटकीय गन्तव्य प्रवद्र्धन नहुनु तथा आधुनिक मानव निर्मित गन्तव्यको पनि अभावका कारण आउने जाने मात्रै हुन्थ्यो । नेपालकै पहिलो अग्लो र लामो झोलुङ्गे पुल कुस्मा र कटुवाचौपारी जोड्ने गरी बन्यो । यसपछि भने मुस्ताङ आवतजावत गर्ने पर्यटक कुस्मा बजारभित्र छिर्न थाले ।

यसको केही समयमा बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल बनेपछि पर्यटक झनै आकर्षित भए । केही महीना अगाडिबाट बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि ५६७ मिटर लम्बाइको झोलुङ्गे पुल बन्यो । यसलाई विश्वकै लामो पदयात्री पुल दाबी गरिएको छ ।

जिल्लामा रहेका झोलुङ्गे पुलले मात्र पर्यटकलाई आकर्षित गर्न नसकिरहेका बेलामा ‘द क्लिफ’ कम्पनीले शुरु गरेको बञ्जीजम्पले भने जिल्लामा पर्यटकको चहलपहल एकाएक बढाइदिएको छ । स्काइ साइक्लिङ, स्विङ र बञ्जीमा दैनिकजसो पर्यटकको आवागमन हुँदा बजार क्षेत्रमा चहलपहल बढेको छ ।

साहसिक पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको पर्वतमा अब यी मात्रै सुपर म्यान शैलीमा विश्वकै दोस्रो लामो जीप लाइन बन्नेक्रम चलिरहेको छ । गत मङ्सिर महीनाबाट निर्माणको काम चलिरहेको जीपलाइनको अहिलेसम्म करीब ७० प्रतिशतभन्दा बढी काम पूरा भएको हार्नेस जीपलाइन प्रालीका अध्यक्ष विदुर पौडेल बताए ।

बञ्जीजम्पमा आउनेलाई ध्यानमा राखेर रिसोर्टसमेत सञ्चालन गरिएजस्तै जीप लाइनमा पनि रिसोर्टको सुविधा दिइने गरी निर्माणको काम भइरहेको छ । उनले जीप लाइन निर्माणको शिलान्यास हुँदा सिसाको पुल निर्माण गर्नेबारे कुनै योजना नरहेको भए पनि त्यसको केही समयमा पर्यटकको आकर्षणका लागि त्यो पनि प्याकेजका रूपमा आउनसक्ने भएकाले अब बनाउने योजना राखेको बताए ।

आधा दर्जन अग्ला र लामा पुल, यान्त्रिक पुल, बञ्जीजम्प, जीपलाइन र आसपासमा रहेको नेपालकै लामा गुप्तेश्वर र अलपेश्वर गुफाले दिनप्रतिदिन पर्यटक बढ्दै गएको पर्यटन व्यवसायीले बताएका छन् ।

अहिलेको भिडभाडले कोरोनाले थलिएको व्यवसाय माथि उठ्ने अपेक्षा गरिएको पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताए ।