ग्लोबल आइएमई र स्पर्स लघुवित्तको एकीकृत कारोबार शुभारम्भ

-



     सफल आवाज    
     वैशाख ८ गते २०७८ मा प्रकाशित



पोखरा, ८ वैशाख । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको छ ।

यो सँगै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. नामबाट बुधबारदेखि एकीकृत कारोबार शुभारम्भ भएको छ । ग्लोबलको केन्द्रीय कार्यालय लमजुङको बेसीशहर–८ मा र स्पर्शको केन्द्रीय कार्यालय पोखरा–२६ रहँदै आएको थियो । मर्जसँगै स्पर्शको केन्द्रीय कार्यालय पोखरा–२६ बाट एकीकृत कारोबार सुरु भएको हो ।

प्रमुख अतिथि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले लघुवित्त क्षेत्रमा डुप्लीकेसन समस्या रहेको र त्यसको निराकरणको उपायमध्येको एक उपाय मर्जर तथा प्राप्तिले डुप्लीकेसनमा कमी हुने बताए ।

ग्लोबलका संचालक समिति अध्यक्ष बुद्धि अकेलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वित्तीय संस्थाका नि.प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशी र स्वागत संयुक्त प्राप्ति समितिका संयोजक रुपेन्द्र वाग्लेले गरेका थिए ।

एकीकृत कारोबार पश्चात् वित्तीय संस्थाको कुल चुक्ता पूँजी ४३ करोड १७ लाख २० हजार ४ सय ११, कुल कर्जा लगानी ६ अर्ब १४ करोड ६३ लाख १० हजार, निक्षेप÷बचत २ अर्ब ३ करोड ६९ लाख ४९ हजार ६ सय २० रहेको छ । साथै विभिन्न ५१ जिल्लाका ९९ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रदान भइरहेको जनाइएको छ ।

संस्थाको कुल ग्राहक १ लाख २३ हजार ४ सय १३ जना रहेका छन् भने ६३ हजार २ सय ९० जना ऋणी सदस्यहरुले विभिन्न शीर्षक अन्तर्गत कर्जा सुविधा उपभोग गरिरहेका छन् ।