पोखराबाट उदाएको नेपालकै अग्रणी ‘पोखरा फाइनान्स’

- हाम्रो बैकिङ मेकानिजम फास्ट छ : सिईओ रविचन्द्र गुरुङ

-


     सफल आवाज    
     वैशाख १२ गते २०७८ मा प्रकाशित


पोखरा, १२ वैशाख । वि.सं २०५२-२०५३ सालतिर पोखरामा खासै बैंक तथा वित्तीय संस्था थिएनन् । केही बाणिज्य बैकका शाखा भर्खर खुल्दै थिए । सहकारी पनि कमैमात्र खुलेका थिए । पोखरेली सर्वसाधारणलाई वित्तीय सेवा सुविधाको पहुँच पुर्याउने उद्देश्यले १० जनाकाे पाेखरेली समूहले एउटा फाइनान्स कम्पनी खाेल्ने याेजना बनाए । साेहीअनुरूप २०५३ साल चैत ३ गते पोखरा फाइनान्स लिमिटेड औपचारिक रूपमा सञ्चालनमा आउन सफल भएकाे थियाे ।

पोखरेलीलाई वित्तीय सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आजभन्दा २४ वर्षअघि स्थापित याे फाइनान्स आज नेपालकै एक अग्रणी फाइनान्सको रुपमा परिचित छ । संस्थाले यो वर्षको चैत ३ मा स्थापनाको रजत जयन्ती मनाउँदैछ । १० जना प्रमोटर मिलेर स्थापित यो संस्थाको सुरुआतमा ६० लाख चुक्ता पुँजी रहेकोमा अहिले झण्डै अर्ब पुगेको छ । हाल ५८ जना प्रमोटर र ४८ हजार ५ सय पब्लिक शेयर होल्डर रहेको फाइनान्सको चुक्तापुँजी ९६ करोड ३१ लाख ४५ हजार छ।


त्याे समय पोखराको महेन्द्रपुलमा एउटा सानो फ्ल्याट भाडामा लिएर संचालित फाइनान्सले समयको विकासक्रमसँगै अहिले पोखरा न्यूरोडमा आफ्नै सुविधा सम्पन्न भवन (प्रधान कार्यालय) सहित देशका विभिन्न २३ शाखाबाट वित्तीय सेवा सुविधा प्रदान गर्दै आएको छ । फाइनान्सको १ एक्सटेन्सन काउन्टर (पर्यटकीय क्षेत्र घान्द्रुक) सहित ४ वटा एटिएम काउन्टर सञ्चालित रहेको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ बताउँछन् ।


सुरुवातमा ५ कर्मचारीबाट शुरु भएको फाइनान्सले कर्मचारीलाई उच्च प्राथमिकतामा राख्दै कार्यसम्पादन गर्दै आयो । हाल संस्थामा १ सय ९० जना कर्मचारी पुगेका छन् । ग्राहकलाई सहज र सरल ढंगले वित्तीय सेवा प्रदान गर्दै आएको पोखरा फाइनान्सले सूचना प्रविधिमा देखिएको आमूल परिवर्तन र भूमण्डीकरणको बढ्दो आकर्षणले संसार साँघुरिँदै गर्दा यसलाई आत्मसाथ गर्दै आएको छ । सूचना प्रविधिको अपडेट गर्दै आएको फाइनान्सको वित्तीय साक्षरता मूल ध्येय रहीआएको प्रमुख कार्यकारी गुरुङ बताउँछन् ।

स्थापनाको २४ वर्षमा आइपुग्दा पोखरा फाइनान्सले थुप्रै कोशेढुंगा पार गरेको छ । ग्राहकको विश्वास, माया, नियामक निकायको मार्गनिर्देशन र कर्मचारीको परिश्रमले नेपालकै सबल एवं उत्कृष्ट संस्थागत सुशासन भएको वित्तीय संस्थाको रुपमा स्थापित हुन पुगेको छ । गत आव २०७६-७७ को अन्त्यसम्म संस्थाको निक्षेप २० दशमलब ६० प्रतिशतले वृद्धि भई ७ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । कर्जा लगानीतर्फ ९ दशमलब ६५ प्रतिशतले वृद्धि हुन गई ६ अर्ब ३३ करोड रुपैयाँ पुगेको थियो । हाल फाइनान्सकाे डिपोजिट करिब ९ अर्ब र कर्जा प्रवाह ७ अर्ब हाराहारीमा छ ।

आव २०७६-७७ मा संस्थाको निक्षेप १८.७ प्रतिशतले र कर्जा लगानीतर्फ १२ प्रतिशतले वृद्धि भएको छ । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १६ प्रतिशतले र वित्त कम्पनीको ८ प्रतिशतले बढेको छ । विकास बैंकहरुको कर्जा प्रवाह १६ दशमलब २ प्रतिशतले घटेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ महामारीबाट पोखरा फाइनान्स पनि अछूतो रहन सकेकाे छैन ।


गत आवको झण्डै ४ महिनासम्म संस्थालाई एकारित व्यापार विस्तारमा अवरोध भयो भने अर्कोतर्फ कोरोना महामारीले प्रभावित उद्योग, व्यापार र व्यवसायलाई राहत प्रदान गर्न ल्याइएका विभिन्न कार्यक्रमका कारण संस्थाको आम्दानीमा उल्लेख्य ह्रास हुन पुग्याे । महामारीको चपेटामा अन्यले झैं याे संस्थाले आफ्नो लक्ष्यअनुरुप नतिजा हासिल गर्न नसके पनि कोरोनाको विषम परिस्थितिबीच डिजिटल सेवा सुधार र विस्तारको योजना ल्याउन सफल भयो । डिजिटल कारोबारमा उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको र आगामी दिनमा पनि ग्राहकलाई अझै बैंकिङ सुविधामा सहज हुने एवं संस्थाको संचालन लागत कम हुने कम्पनीका अध्यक्ष भुवनसिं गुरुङको अपेक्षा छ ।


नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको फाइनान्स कम्पनीलाई ११ प्रतिशत उत्पादनशील (कृषि, पर्यटन, औद्योगिक, हाइड्रो लगायत) र ५ प्रतिशतसम्म विपन्न वर्ग कर्जा प्रवाह गर्नुपर्ने निर्देशन दिएको छ । तर कम्पनीले सोभन्दा बढी उत्पादनशील कर्जामा २१ प्रतिशत र विपन्न वर्ग ९ प्रतिशत हाराहारीमा प्रवाह गर्दै आएको दाबी गरेको छ ।


महिला उद्यमीको लागि १५ लाखसम्म कर्जा सुविधा छ भने लो कस्ट हाउजिङको लागि ४ लाखसम्म कर्जा सुविधा फाइनान्सले दिँदै आएको छ, त्यो पनि सहुलियत पूर्ण हो । १ सय जनासम्म महिला उद्यमीलाई कर्जा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनबमोजिम कम्पनीले त्यसप्रकारको कर्जा प्रवाह ३ सय बढीलाई गरिसकेको छ । फाइनान्समा हाल ३१ हजार जना ग्राहक संख्या छन् । फाइनान्सले वर्षेनी औषतमा साढे १७ प्रतिशतसम्म लाभांश वितरण गर्दै आएको जनाएको छ ।

नेपालको दिगो विकास लक्ष्य आत्मसात गर्दै संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्थापनाकालदेखि नै विभिन्न कामलाई प्राथमिकतामा राखेर सम्पादन गर्दै आएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन ती कार्यक्रम संचालन गर्दै आएको हो ।


संस्थाले गत आवमा १२ लाख ५१ हजार बराबरको रकम सामाजिक उत्तरदायित्वमा खर्चेको छ । जसमा पर्यावरणीय, स्वास्थ्य तथा शिक्षाको विकासमा अधिक खर्च गरिएको हो । कोभिड–१९ ले आक्रान्त बनेको बेला नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष, पोखरा महानगरपालिका तथा गाउँपालिकाहरूमा समेत गरी ८ लाख बढी सहयोग गरेको छ भने सर्वसाधारणलाई मास्क तथा सेनिटाइजर वितरण गरेको छ ।

संस्थाले कास्कीको लाहाचोक, नयाँपुल, गोरखाको पालुङटार लगायत ग्रामीण भेगमा पुगेर वित्तीय साक्षरता दिने गरेको छ । त्यसबारेमा कतिपय कुरा मिडियामा आउँछन् कति आउँदैनन् । वित्तीय साक्षरताका अलावा रक्तदान, आँखा शिविर, स्वास्थ्य शिविर, आर्थिक सहयोग हुँदै आएको छ ।

हाम्रो बैकिङ मेकानिजम फास्ट छ

रविचन्द्र गुरुङ, प्रमुख कार्यकारी अधिकृत

नेपालका फाइनान्स कम्पनी मध्ये हामीहरु शीर्षस्थानमै छाैं । सुशासन कायम राख्दै आएको कुरा फाइनान्सको राष्ट्र बैंकको अडिटले पनि त्यो कुरा प्रमाणित गर्छ । नेपालको वित्तीय संस्थाले जुन ढंगले सेवा सुविधा दिँदै आएको छ, पोखरा फाइनान्सले पनि निरन्तर रुपमा ग्राहकलाई आवश्यकता बमोजिम त्यही सेवा प्रदान गर्न सधैँ तत्पर रहेकाे छ ।

सिईओ रविचन्द्र गुरुङ

आगामी दिनमा निक्षेपको औषत व्याजदरमा कमी ल्याउने किसिमले निक्षेपका नयाँ योजना तर्जुमा गरी कार्यान्वयन गर्ने र व्यक्तिगत निक्षेपर्कताको आधार वृद्धि गर्दै संस्थागत निक्षेपतर्फको निर्भरता कम गर्दै लैजाने, मर्जर वा प्राप्तिलाई रणनीतिक योजनाको रुपमा लिई शाखा सञ्जाल बढाउने, व्यक्तिगत निक्षेप वृद्धि गर्ने तथा समग्र व्यवसाय वृद्धि गर्ने योजना रहेकाे छ ।

कर्जाको गुणस्तर कायम राख्ने र कर्जा विस्तार गर्दा कृषि, ऊर्जा, पर्यटन लगायत साना तथा घरेलु उद्योगतर्फ लगानी बढाउने, संस्थाको सुशासन अझ बढी सुदृढ बनाउने, उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी वृद्धिमा ध्यान दिने, कर्मचारीको दक्षता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने तथा आधुनिक प्रविधिलाई जोड दिने योजना छ ।

हाम्रोबाट विभिन्न कर्जा सुविधा दिइएको छ । जसमा आवधिक, अधिविकर्ष, चालू पुँजी, व्यक्तिगत घर, रियल स्टेट, सेयर, हायरपर्चेज, विपन्न वर्ग कर्जा दिइन्छ । कसैलाई आवश्यकता परेमा सबै डकुमेन्ट कम्प्लिट भए ढिलोमा ३ दिनमा हाम्रो फाइनान्सले कर्जा प्रबाह गर्छ । किनकि हामीसँग मेकानिजम पनि फास्ट छ । बैंक तथा वित्तीय संस्थामा खाता खोल्नेलाई भन्दा लोन लिनेलाई प्राथमिकता दिइने गरेको पाइन्छ तर त्यसो हुनु हुँदैन । खाता खोल्नु भनेको रिलेसनसीप सुरु गर्नु हो ।

सानो–सानो इनिसियसनले राम्रो प्रभाव पार्छ । हामीहरुले सबै ग्राहकलाई समान ढंगले व्यवहार गर्छौ । अझ भन्ने हो भने खाता खोल्ने बेलामा केवाईसी (ग्राहक पहिचान) हुने भएकोले त्यहाँ बस्ने कर्मचारी अनुभवी र उच्च तहको हुनु पर्छ । ताकि ग्राहकको वित्तीय जानकारी लिन सहज हुने भएकोले हाम्रोमा अफिसर लेभलको कर्मचारीले ग्राहकको खाता खोल्छन । ताकि हाम्रो प्रोडक्ट ग्राहकलाई सहजै बुझाउन सकियाेस । त्यसबाट ग्राहकको हरेक जिज्ञासा सहजै मेटाउन सकिन्छ ।

कम विकसित भए पनि हाम्रो देशले प्रविधिको हिसाबले धेरै फड्को मारेको छ । नेपालमा जति पनि बितिय क्षेत्रकाे टेक्नोलोजी भित्रिएको छ, लगभग ति सबै सेवा हामीहरुले दिएका छौं । मोबाइल बैंकिङ सुविधाबाटै धेरै सुविधा प्रवाह भइरहेको छ । अनलाइन बैंकिङ सुरु भैसकेको छ । मार्केटमा कस्तो खालको सफ्टवेयर सुविधा छ, त्यही अनुसार हाम्रो टेक्नोलोजी अपडेट हुने गर्दछ । एन्टि मोनी लाउन्ड्रिरिङ (एएमएल), केवाईसी, एटिएम कार्ड दुरुपयोग लगायत कार्य दुरुस्त राख्न विशेष सावधानीका उपाय अपनाउँदै आएका छौं । (सिईओ रविचन्द्र गुरुङसँगकाे वार्तामा आधारित )