काठमाडौं उपत्यकामा बिहीबारदेखि १ साता निषेधाज्ञा, अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द

-



     सफल आवाज    
     वैशाख १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ बैशाख । काठमाडौं उपत्यकाका ३ जिल्लामा बैशाख १६ गते बिहीबार बिहान ६ बजेदेखि २२ गते राती १२ बजेसम्मका लागी निषेधाज्ञा जारी भएकाे छ । उक्त समयमा अत्यावश्यक बाहेकका सबै सेवा र यातायात बन्द हुनेछन ।

काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको सोमबार बसेको बैठकले उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएकाे छ।

प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेश अनुसार वैशाख १६ देखि एक हप्तासम्म खाद्य सामग्री औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द हुनेछन् ।

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना समेत बन्द गरिने भएको छ ।

अत्यावश्यक सेवा दिनेबाहेकका सार्वजनिक र निजी सवारी साधन वैशाख १६ गतेदेखि २२ गते राति १२ बजेसम्म बन्द हुने समेत बताइएकाे छ ।

प्रमुख जिल्ला अधिकारीहरूको आदेशअनुसार खाद्य सामग्रीको पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछन । डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइने बताइएकाे छ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछन । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्ने बताइएकाे छ ।

विवाह ब्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी हुन पाइने आदेशमा उल्लेख गरिएकाे छ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।

त्यस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानीका साधन पनि चल्न पाउनेछन् ।

कोरोना भाइरसको संक्रमण तीव्र हुदै गएपछि कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन केन्द्रकाे हिजोको बैठकले पनि ५ सय भन्दा बढी सक्रिय संक्रमित भएका शहरमा निषेधाज्ञा जारी गनुपर्ने सिफारिस गरेको थियो ।

सिसिएमसि बैठकले पहाडी जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित भएपछि लकडाउन गर्न पनि भनेको छ । काठमाडौं उपत्यकामा अहिले ४ हजार भन्दा बढी सक्रिय संक्रमित भइसकेका छन।

बिस्तृतमा हेर्नुहाेस प्रशासनकाे पत्र :