त्रिविका सबै परीक्षा स्थगित

-


     सफल आवाज    
     वैशाख १३ गते २०७८ मा प्रकाशित


काठमाडौं, १३ वैशाख । त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगन गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले मङ्गलबारदेखि हुने सबै परीक्षा स्थगन गरेको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोना भाइरसको दोस्रो प्रकोपले देशका विभिन्न स्थानमा बन्दाबन्दी र निषेधाज्ञा भएका कारण अहिलेको स्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले स्थगन गर्नुपरेको जानकारी दिए । “केही ठाउँमा बन्दाबन्दी र निषेधाज्ञा शुरु भएको छ ”, उनले भने, “ यस्तो बेलामा परीक्षा गर्न सम्भव हुँदैन । त्यसैले सबै परीक्षा स्थगन गरेका हाै ।”

उनले वातावरण सहज भएपछि परीक्षा सञ्चालन गरिने बताए। त्रिविको वार्षिक परीक्षाअन्तर्गत स्नातक तह र स्नातकोत्तर तह दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका थिए । यही वैशाख १९ गतेसम्म सञ्चालन हुने परीक्षाअन्तर्गत मानविकी, शिक्षा र विज्ञान सङ्कायका केही विषय मात्र बाँकी थिए ।

यस्तै वैशाख १९ गतेदेखि स्नातकोत्तर तहको सेमेष्टरअन्तर्गतका परीक्षासमेत सञ्चालन गर्ने पनिकाको तयारी थियो । यसअघि पनि गत वर्ष चैतमा कोभिड–१९ का कारणले परीक्षा स्थगन गरिएका थिए । ती परीक्षा गत मङ्सिरदेखि निरन्तर सञ्चालन भइरहेका थिए ।