नेप्सेमा दोहोरो अंकको गिरावट, ७ अर्ब ५२ करोड बढीको कारोबार

-



     सफल आवाज    
     वैशाख २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० वैशाख । राजनीतिक आन्दोलन, हड्ताल वा विपदको समयमा शेयर बजारमा यसको प्रत्यक्ष असर देखिने गरेको छ । पछिल्लो समयमा सरकारले कोरोना भाइरसको दोश्रो चरण शुरु भएपछि निषेधाज्ञा जारी गरेपछि शेयर बजारमा आरोह अवरोह देखिने गरेको छ ।

नेप्सेका सूचकांकहरुमा एकरुपता देखिएको छैन भने लगानीकर्ताहरुको उत्साहमा कमि आएको छ । कहिले नेप्सेका सूचकांकहरुमा हरियाली छाउँछ त कहिले राताम्मै भएको देखिने गरेकाे छ ।

साताको दोश्रो दिन साेमबार काराेबार बढेपनि शेयर बजारमा आशा गरेभन्दा नकारात्मक असर देखिएको छ । अघिल्लो दिन वैशाख १९ गते सर्वत्र हरियाली छाएको नेप्सेमा आज भने आंशिक रुपमा हरियाली देखिएको छ भने बाँकी उपसमूहरु राताम्मै भएका छन् ।

नेप्से आज दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १२.३५ अंकले घटेर २६५२.७५ विन्दुमा पुगेको छ । नेप्से ०.४६ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स २.६९ अंकले घटेर ४७५.१२ विन्दुमा पुगेको छ ।
आज कुल २१६ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ५९ लाख ८ हजार ४९९ कित्ता शेयरको खरिबिक्री हुँदा ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १३ वटा उपसमूहमध्ये दुईवटा उपसमूह बाहेक जम्मै ११ वटा उपसमूहहरु राताम्मै भएका छन् । आज माइक्रोफाइनान्स र लगानी उपसमूहहरुमा हरियाली छाएको छ अर्थात उनीहरुको शेयर बढेको छ ।

बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाईड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहहरु राताम्मै भएका छन् अर्थात उनीहरुको शेयर घटेको छ ।