मध्य भोटेकोशी जलविद्युतको शेयर निष्काशन खुल्ला

-


     सफल आवाज    
     वैशाख २१ गते २०७८ मा प्रकाशित


काठमाडौं, २१ वैशाख । मध्य भोटेकोशी जलविद्युत कम्पनीकाे ६० लाख कित्ता शेयर (आइपीओ) स्थानियका लागि आजदेखि खुल्ला भएकाे छ ।

आयोजना प्रभावित स्थानिय जनताको लागि पहिलो चरणमा कम्पनीले १०० रूपैयाँ मूल्य अंकित ६० लाख कित्ता साधारण शेयरमध्ये ३० प्रतिशतले हुने १८ लाख कित्ता भोटेकाेशी गाउँपालिकाका वडा नं १ र ५, बाह्रबिसेका वडा नं ५, ६, ७ र ८ का जनताको लागि रहेको छ । यस्तै बाँकी रहेको ७० प्रतिशतले हुने ४२ लाख कित्ता शेयर सिन्धुपाल्चोकका आयोजना क्षेत्रबाहिरका जनताको लागि रहेको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख ५ मा १ करोड ५० लाख कित्ता शेयर निष्काशनको लागि स्वीकृति दिएको थियो । कम्पनीले दोश्रो चरणको लागि ९० लाख कित्ता शेयर निकट भविष्यमा जारी गर्नेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानियले जेठ ४ सम्म आवेदन दिनुपर्ने भएको छ । ढीलोमा जेठको २० गतेसम्म आवेदन दिन सकिनेछ । आवेदनकर्ताले न्यूनतम १० देखि अधिकतम ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन दिनका लागि ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, बैंक अफ काठमाण्डु तथा एनआईसी एशिया बैंकका शाखा कार्यालय रहेका छन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल तोकिएको छ ।