कास्कीमा एकै दिन थपिए १४४ संक्रमित, सक्रिय संक्रमित झन्डै १५ सय पुगे

-


     सफल आवाज    
     वैशाख २१ गते २०७८ मा प्रकाशित


पोखरा, २१ वैशाख । कास्कीका एकै दिनमा १ सय ४४ कोरोना संक्रमित थपिएका छन् । यो सहित गण्डकी प्रदेशभर १ सय ६१ संक्रमित थपिँदा कुल संक्रमित संख्या १९ हजार ५ सय ८५ पुगेको छ ।

पोखराको न्यूरोडस्थित लाइफ केयर डायग्नोस्टिकमा भएको परीक्षणमा कास्कीमा थप १ सय ४४ संक्रमित थपिन पुगेका हुन । कास्कीमा सोमबार साँझसम्म सक्रिय संक्रमितको संख्या १ हजार ३ सय १५ थियो । पोखरामा मंगलबार थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मंगला गाउँपालिका ६ का ७६ वर्षीय पुरुष हुन् ।

गत वैशाख १७ मा कोरोना संक्रमण पुष्टि भएकोमा उनको मंगलबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ । २ दिनअघि गण्डकीमा एकै दिन ८ जनाको ज्यान गएको थियो ।

गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरामा दिनानुदिन संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञा कडाइ गरेको छ । वैशाख २१ देखि ३१ सम्म अत्यावश्यक कामबाहेक बाहिर निस्कन पाइने छैन भने छुट प्रदान गरिएका बाहेक निजी तथा सार्वजनिक यातायातका साधन चल्न रोक लगाइएको छ । बिहान ५ देखि ९ बजेसम्ममात्र खाद्यान्नका पसल खोल्न पाइनेछ । अरु सबै बन्द छन् ।

प्रशासनले गत वैशाख १५ देखि एक साताका लागि निषेधाज्ञा आदेश जारी गरेकोमा कोरोनाको महामारी बढ्दै गएपछि कडाइ सहित अवधि थपेको हो ।

अघिल्लो दिनको तुलनामा मंगलबार पोखराको बजार पूरै सुनसान छ भने सडकमा सवारीसाधन पातलो गुडेका छन् ।

सोमबार जारी गण्डकी प्रदेशभर कोरोना विवरण ।