राष्ट्र बैंकले १ वर्षे मुद्धती निक्षेपमा २० करोड लगानी गर्दै

-



     सफल आवाज    
     वैशाख २३ गते २०७८ मा प्रकाशित




काठमाडौं, २३ वैशाख । नेपाल राष्ट्र बैंकले बैंकका कर्मचारीको सुरक्षण कोषमा रहेको २० करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्न लागेको जानकारी दिएको छ ।

बैंकले यसका लागि बैंकबाट इजाजत पत्र प्राप्त गरेका ‘ग’ बर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरु, ‘ख’ बर्गका राष्ट्रिय स्तरका विकास बैंक तथा ‘क’ बर्गका वाणिज्य बैंकहरुले निर्दिष्ट शर्तहरुको पालना गरी प्रस्ताव आव्हान गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको सीमाभित्र रहेर आफुले लिन चाहेको रकम तथा उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर राष्ट्र बैंकले तोकेको फाराम भरेर उक्त फारामलई पीडिएफ फर्मेटमा स्क्यान गरी पासवर्ड सुरक्षासहित लगानी योग्य रकममध्ये २०७८ जेठ २ गतेदेखि २०७९ जेठ २ गतेसम्म ३६६ दिनको मुद्धती निक्षेपको रुपमा लिन चाहेको रकम प्रस्तावको रुपमा पेश गर्नुपर्नेछ ।

यसका लागि राष्ट्र बैंकले २०७८ वैशाख २६ गते अपरान्ह ४ वजेभित्र fmdbid@nrb.org.np मा आफुले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आव्हान गरेको छ । बैंकले पासवर्ड सुरक्षा गरिएको फाईलको पासवर्ड २०७८ वैशाख २६ गते अपरान्ह ४.०५ देखि वैशाख २७ सम्म fmdbid@nrb.org.np मा जानकारी जानकारी गराउन अनुरोध गरेको छ ।

राष्ट्र बैंकले ‘ग’ बर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुको लागि १ करोड, ‘ख’ बर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड र ‘क’ बर्गका वाणिज्य बैंकहरुको लागि १६ करोडसहित २० करोड मुद्धती निक्षेपमा लगानी गर्न लागेको हो ।