पुटिनद्वारा स्पुतनिक खोपको प्रभावकारिताको प्रशंसा, उपचारमा एकै मात्रा काफी हुने निर्माताको दाबी

-



     सफल आवाज    
     वैशाख २४ गते २०७८ मा प्रकाशित



रसिया, २४ वैशाख । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसमा निर्माण गरिएको कोभिड–१९ विरुद्धको खोप, स्पुत्निक–भी कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा निकै प्रभावकारी रहेको दाबी गरेकाे छन् । उनले स्पुत्निक–भीलाई रूसी प्रसिद्ध हतियार ‘कलाश्निकोभ राइफल जत्तिकै भरपर्दो’ भनी प्रशंसा गरे ।

उपप्रधानमन्त्री तात्याना गोलिकोभाका साथ गरिएको एक भिडिओ कन्फरेन्समा बोल्दै उनले खोपबारे उक्त भनाइ राखेका हुन् । रूसी स्वास्थ्य अधिकारीहरूले बिहीवार रुसमा निर्मित स्पुत्निक लाइट (स्पुतनिक–भी) कोभिड–१९ विरुद्धको खोपको एक मात्रा मात्रै लगाए पुग्ने संस्करण दर्ता गरेका बेला त्यस्तो टिप्पणी आएको हो । विश्वमा निर्मित अन्य खोपको दुई मात्रा लगाउनु पर्ने नै भए पनि स्पुत्निकको एकै मात्राले कोभिड–१९ उपचारमा निकै सफलता पाएको बताइएको छ।

स्पुत्निक–भी खोप अक्सफर्ड र अस्ट्राजेनेका तथा जनसन एण्ड जनसन ले तयार पारेका खोप बराबर नै प्रभावकारी रहेको रूसको दाबी छ। त्यसमा कोल्ड–टाइप भनिने निष्क्रिय तुल्याइएको भाइरसको प्रयोग हुन्छ जुन भाइरसले कोरोनाभाइरसको सूक्ष्म अंश मानिसको शरीरमा प्रवेश गराउने वाहकको रूपका काम गर्छ ।

रूसले स्पुतनिक लाइटलाई उक्त खोपको २ मात्रा लगाउनुपर्ने प्रकारले हाल संसारका एक दर्जन जति देशमा आपत्कालीन प्रयोगका लागि अनुमति पाइसकेको छ । स्पुतनिक लाइट भनिएको खोपको एक मात्रा मात्रै लगाए पुग्ने प्रकारको प्रयोगलाई रुसमा बिहीवार औपचारिक अनुमति दिइएको थियो । एउटा प्रेस विज्ञप्तिमा स्पुत्निक खोपसम्बद्ध अधिकारीले बताए, “स्पुतनिक लाइट खोपको देशमा गरिएको परीक्षणका क्रममा ७९.४% प्रभावकारिता देखिएको छ ।

“एक मात्रा मात्रै लगाए पुग्ने खोपको यो प्रकारले छोटो समयमा जनसङ्ख्याको ठूलो हिस्सालाई खोप लगाउन सकिन्छ र यसबाट जटिल चरणमा प्रवेश गरेको महामारीविरुद्ध लड्न सघाउ पुग्नेछ,” विज्ञप्तिमा भनिएको छ।