२७.४७ अंकले बढ्यो नेप्से, आजकाे कारोबारमा रि-इन्स्योरेन्स कम्पनी अगाडी

-



     सफल आवाज    
     वैशाख २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ वैशाख । शेयर बजारमा सुधार हुन थालेको छ । सोमबार सबै सूचकहरुमा सकारात्मक प्रभाव पारेकोमा साताको तेश्रो दिन मंगलबार आज पनि सोमबारको जस्तै सबै १३ उपसमूहहरुमा हरियाली छाएको छ ।

आज कारोबार रकम तथा शेयर खरिदबिक्रीमा संख्यात्मक हिसाबले खासै प्रगति नभएपनि लगानीकर्ताहरु शेयरमा पुनः बजार सक्रिय हुन थालेका छन् । नेप्से आज २७.४७ अंकले बढेर २६७३.३१ विन्दुमा पुगेको छ । आज नेप्से १.०४ प्रतिशतले बढ्दा सेन्सेटिभ इन्डेक्स ३.१२ अंकले बढेर ४७८.२४ अंकमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२० वटा कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ८१ लाख ९ हजार ५३५ कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब ८१ करोड ६७ लाख ३ हजार ७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । अर्थात सबै उपसमूहरुको शेयर बढेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास समूह, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड तथा लगानी समूहको शेयर बढेको छ ।

कारोबारको आधारमा आज पनि नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रभागमा देखिएको छ । कम्पनीको आज ७६ करोड ६५ लाख लाख ३४ हजार ४१८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार पनि रि इन्स्योरेन्स कम्पनी कारोबारमा सबैभन्दा अगाडी रहेको थियो । कम्पनीको २७ करोड ४२ लाख ७ हजार ९३० रुपैयाँ बराबरको कारोबार भएको थियो ।