प्रधानमन्त्रीमा ओली पुनः नियुक्त, सपथग्रहण भोलि

-



     सफल आवाज    
     वैशाख ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० वैशाख । गत बैशाख २७ गते संसदबाट विश्वास गुमाएका केपी शर्मा ओली आज पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

काँग्रेस, माओवादी, जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउन नसकेपछि ओली नै ठुलो दलको नेताको हैसियतले प्रधानमन्त्री बन्न सफल भएका हुन्। प्रधानमन्त्रीको सपथग्रहण र मन्त्रीमन्डल बिस्तार भोलि शुक्रबार हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि बिहिबार राति ९ बजेसम्मको समय दिएकी थिइन् । ३ दिनको अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले प्रयास गर्दा पनि बहुमत पुर्याउन सकेनन् । अन्ततः उनीहरु प्रधानमन्त्रीको दाबी गर्न नजाने निष्कर्षमा पुगेका थिए।

जसपाको महन्थ ठाकुर पक्षका सांसदहरूले साथ नदिएकाे र माधव नेपाल समूहले सामुहिक राजीनामा नगरेको कारण देउवाको पक्षमा बहुमत जुटन सकेन।

दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसकेमा ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ । विपक्षीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । उनी तेस्राे पटक प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत दिनुपर्छ । नभए धारा ७६ (५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जानेछ।