४२ औं प्रधानमन्त्री बने ओली, आज दिउँसो २ बजे सपथ ग्रहण

-



     सफल आवाज    
     वैशाख ३१ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३१ वैशाख । ”आफ्नो मान्छे आफ्नै हुन्छ”, यो पंक्ति निकै चर्चित, मननयाेग्य, बलियो र निकै भावनात्मक रहेको छ । अन्ततः आइपरेको बेलामा, तमाम् मतभेद, दुःख, कष्ट र अफ्ठेरो परेको बेलामा साथ दिने आफ्नै हुने रहेछन् भन्ने मान्यता प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनमा लागु भएको छ ।

ओली आफ्नैको सहयोगको कारण अर्थात वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहको सहयोगको कारण मुलुकको ४२ औं प्रधानमन्त्री बन्न सफल भएका छन् । प्रधानमन्त्री ओलीले ४२ औं प्रधानमन्त्रीको रुपमा आज शुक्रबार दिउँसाे २ बजे राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गर्ने भएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनबाट सरकार बनाउने अन्तिम प्रयासमा नेपाल खनाल समूह पक्षको असहयोग भएपछि उनीहरूकाे वैकल्पिक सरकार बन्न सकेन । यसको फाइदा प्रधानमन्त्री केपी शर्मा ओलीको पोल्टामा गयो । तोकिएको समयसीमाभित्र सरकार नबनेपछि ठूलो दलको हैसियतमा ओली पुनः अल्पमतको प्रधानमन्त्री बने । अब प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भएपछि पदबाट मुक्त भएका थिए ।

विसं २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लाको इवामा जन्मेका प्रधानमन्त्री ओली निरंकुश पञ्चायती व्यवस्था विरुद्ध झापा विद्रोहको आन्दोलन छेडेका नेताहरुमध्ये सक्रिय राजनीतिमा रहेका एक नेता हुन । उनले आफ्नो जीवनकालमा १४ वर्ष जेल जीवन बिताएका थिए ।