शेयर बजार नयाँ उचाईमा, १० अर्ब ४० करोड बढीको कारोबार

-



     सफल आवाज    
     जेठ २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ जेठ । गएको एक महिनादेखि घट्दै बढ्दै काराेबार रकममा उल्लेख्य प्रगति हुन नसकेकाे शेयर बजारमा आज भने नाटकिय परिवर्तन देखिएकाे छ । निषेधाज्ञाकाे कारण लगानीकर्ताले अन्यत्र लगानी गर्न पाएका छैनन् । जस्काे फलस्वरुप लगानीकर्ताहरु शेयर बजारमै यूटर्न भएकाे आँकलन गरिएकाे छ ।

साताको पहिलो दिन आईतबार आज भने नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । शेयरबजारमा देखिएको लगानीकर्ताकाे उत्साहकाे सहभागितासंगै सम्पूर्ण सूचकहरुमा हरियाली छाएको छ भने कारोबार रकममा पनि उल्लेख्य बृद्धि भएको छ ।

नेप्से आज ५४.२१ अंकले बृद्धि भएर २७३८.२९ विन्दुमा पुगेर रेकर्ड कायम गरेको हो । यसअघि वैशाख २ मा नेप्से २७३५.४६ विन्दुमा पुगेर रेकर्ड कायम गरेको थियो । आज नेप्से २.०२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ८.६४ अंकले बृद्धि भएर ४८८.१४ विन्दुमा पुगेको छ ।

आज २१४ वटा कम्पनीको शेयर कारोबार भएको छ । २ करोड १३ लाख २८ हजार ८८२ कित्ता शेयरको खरिदबिक्री भएको छ । कारोबार भने केहि हप्तापछि एकैपटक १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँ बराबरको भएको छ ।

आज १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ अर्थात सबै उपसमूहहरुको शेयर बढेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावरको शेयर बढेको छ ।

यस्तै फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर बढेको नेप्सेले जनाएको छ ।

आज कारोबारको आधारमा नेपाल रि इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडी देखिएको छ । कम्पनीको ८५ करोड २० लाख ३ हजार ७६१ रुपैयाँ बराबरको कारोबार भएको छ । उसाे त गएकाे हप्ता अधिकांश दिनहरुमा कम्पनीले काराेबारमा अग्रता लिदै‌ आएकाे थियाे ।