शेयरबजार आज हालसम्मकै उच्च बिन्दुमा, सेन्सेटिभ इन्डेक्स ४.६४ अंकले बढ्याे,साढे ११ अर्बको कारोबार

-



     आरजू विष्ट सल्यानी    
     जेठ ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ जेठ । शेयरबजार आज हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । लगातार नयाँ नयाँ रेकर्ड बनाउँदै र रेकर्ड तोड्दै आएको नेप्सेमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । अघिल्लो दिनको रेकर्डलाई तोड्दै आज नेप्सेमा नयाँ रेकर्ड कायम भएको हाे।

साताको पहिलो दिन आईतबारबाट सकारात्मक लयमा फर्किएको शेयर बजारमा लगातार आज पनि उत्साह थपिनु लगानीकर्ताको उत्साहजनक सहभागिता र एकाग्रताको लगानीको कारणले नै हो । यतिबेला निषेधाज्ञाको कारण लगानीका लागि अन्य क्षेत्रहरु बन्द रहेकोले शेयरबजारमा लगानीकर्ताहरुको आगमन बढेकाे छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ३४.६८ अंकले बढेर २७९३.८९ विन्दुमा पुगेको छ । नेप्से १.२६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इन्डेक्स ४.६४ अंकले बढेर ४९७.२२ विन्दुमा उक्लिएको छ ।

आज २१५ वटा कम्पनीको शेयर कारोबार भएको छ । २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयरको खरिदबिक्रीबाट ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँ बराबरको कारोबार भएको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च कारोबार हो ।

आज उत्पादन उपसमूहमा मात्र रातो लागेको छ अर्थात यो उपसमूहको शेयर घटेको छ । बाँकी सबै १२ वटै उपसमूहमा हरियाली छाएको छ । यी सबैको शेयर बढेको छ ।

बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर बढेको छ ।

आज कारोबारको आधारमा सबैभन्दा बढी नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ६७ करोड ९२ लाख ९९ हजार ७५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।