नवलपरासी दाउन्नेमा बस दुर्घटना, ४ जनाको मृत्यु ४९ घाइते

-



     सफल आवाज    
     जेठ ५ गते २०७८ मा प्रकाशित



नवलपरासी, ५ जेठ । नवलपरासीकाे दाउन्नेमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो । बस सडकबाट २०० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँको माछापोखरीबाट रुकुम पश्चिमका लागि जादै गरेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बासुदेव नेपालले जानकारी दिएका छन । ज्यान गुमाउने मध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ बस्ने २७ वर्षीय कल्पना पुन र सिस्ने गाउँपालिका–४ बस्ने धनराज घर्तीको मात्र सनाखत भएको छ ।

बसमा अन्दाजी ५८ यात्रु रहेको र ती मध्ये ४९ घाइतेलाई घटनास्थलबाट उद्धार गरी स्थानीय चिसापानी अस्पताल र सञ्जिवनी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । बसमा सवार ५ जना भने सकुशल छन । काठमाडौंमा अलपत्र परेका रुकुम पश्चिमका स्थानीयलाई लिएर बस त्यसतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।