गण्डकीमा मन्त्रिपरिषद् बिस्तार, ४ मन्त्रीले लिए शपथ, मनाङ्गे अनुपस्थित

-



     सफल आवाज    
     जेठ ५ गते २०७८ मा प्रकाशित



पोखरा, ५ जेठ । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेशमा बुधबार मन्त्रिमण्डल विस्तार गरेका छन् । कोरोना संक्रमणका कारण आइसोलेसनमा रहेका उनले मुख्यमन्त्री नियुक्त भएको एक सातापछि पुरानै मन्त्रीहरुलाई नियुक्ति दिँदै मन्त्रिपरिषद बिस्तार गरेका हुन् ।

मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार प्रदेश प्रमुखको कार्यालयमा ४ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाइन् । शपथमा युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) काठमाडौं भएकोले उपस्थित भएनन् ।

शपथ ग्रहण गर्नेहरुमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, भौतिक पुर्बाधार, सहरी बिकाश,खानेपानी तथा संचार मन्त्रीमा रामशरण बस्नेत, उधाेग,पर्यटन, बन तथा बाताबरण मन्त्रीमा विकास लम्साल र शिक्षा, बिज्ञान प्रबिधि तथा सामाजिक बिकास मन्त्रीमा नरदेवी पुन छन् । मन्त्रिमण्डल विस्तारसँगै मुख्यमन्त्रीले प्रदेशमा मन्त्रालय थप्ने योजना बनाएका छन ।

गण्डकीमा ६० सदस्य रहेकोमा १२ जनासम्म मन्त्रिमण्डल बनाउन सकिने संवैधानिक प्रावधान छ । यसअघि ८ मन्त्री थिए । मुख्यमन्त्रीले सत्ता टिकाउन १० सदस्यीय मन्त्रिमण्डल बनाउन सक्ने स्रोतले जनाएको छ ।

आफूविरुद्ध विपक्षीहरुबाट अविश्वासको प्रस्ताव आएकै बेला उनले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए । गत वैशाख २६ मा मुख्यमन्त्रीबाट राजीनामा दिएका उनी पुनः दोस्रो कार्यकालका लागि ठूलो दलको संसदीय दलको नेताको हैशियतले ३ दिनभित्रै मुख्यमन्त्री नियुक्त भएका थिए ।