
काठमाडौं, ८ जेठ। कोरोना भाइरस (कोभिड-१९) महामारीले नागरिक आक्रान्त भएका बेला शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपतिले दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको घोषणा गरेकी छन्।
कोरोना महामारीले नागरिक उपचार नपाएर छटपटाइरहेका बेला भएको चुनाव घोषणाले नागरिकमा संक्रमण बढ्ने चिन्ता बढेको छ। आफू अनुकुल संविधानको व्याख्या गर्दै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन र चुनावको सिफारिस गरेको एक घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई स्वीकृत गरेपछि यसको चौतर्फी आलोचना भएको छ।
यसअघि पुस ५ गते विघटित प्रतिनिधिसभालाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले फागुन ११ गते पुनस्थापित गरेको थियो। सोही कदमलाई प्रधानमन्त्री र राष्ट्रपतिले शुक्रबार मध्यरातमा दोहोर्याएका हुन्। प्रतिनिधिसभामा बहुमत देखाउन नसक्दा प्रधानमन्त्री ओलीले नागरिकले कोरोना महामारीको चरम पीडा र त्रास भोगिरहेका बेला दोस्रो पटक प्रतिनिधिसभा विघटन सिफारिस गरेका हुन्। ओलीको यो कदमले संविधान र लोकतन्त्रमाथि नै खतरा बढेको संविधानविद्ले बताएका छन्।
सत्ता स्वार्थका लागि राष्ट्रपति र प्रधानमन्त्रीले सहकार्य गरे पनि संविधानको मर्म र महामारीको अवस्थालाई ख्याल नगरेको आरोप बुद्धिजीवी र आम नागरिकको छ। प्रतिनिधिसभा दोस्रो पटक विघटन गरेर चुनाव अर्थात् ताजा जनादेशमा जाने निर्णय राजनीतिक विषय भए पनि यसले उपचारको अभावमा छटपटाइरहेका नागरिकको पीडामा थप नुनचुक छर्कने अवस्था देखिएको छ।
महामारी नियन्त्रणमा खर्च गर्नुपर्ने रकम चुनाव घोषणासँगै त्यहाँ खर्च हुने भएको छ। यसले नागरिकको उपचारमा भन्दा राष्ट्रपति र प्रधानमन्त्रीको प्राथमिकता चुनाव केन्द्रित भएको देखिन्छ। कोरोनाका गम्भीर बिरामी अक्सिजनको अभावमा छटपटाइरहेका बेला सरकारले चुनाव घोषणा गर्नुलाई गैर जिम्मेवारीको रुपमा लिइएको छ। नागरिकको उपचारका लागि आवश्यक पर्ने अक्सिजनको जोहो गर्न नसक्ने नेता तिनै नागरिकसँग भोट माग्न कसरी घरघर पुग्छन् भन्ने प्रश्नसमेत खडा भएको छ। राष्ट्रपति र प्रधानमन्त्रीको यो कदम देशमा स्थिरताका लागि भन्दा पनि संविधानलाई असफल बनाउने र लोकतन्त्र नै खतरामा पार्ने डिजाइनमा भएको आशंकासमेत गरिएको छ।
राजनीकि विषय जे जे भए पनि अक्सिजन अभावमा बिरामीले उपचार नपाएर ज्यान गुमाउनुपर्दाको पीडा देख्न नसकेर परदेशमा श्रम गर्न पुगेका नेपाली चन्दा उठाइरहेका छन्। विभिन्न देशले अनुदान दिइराखेका छन्। अनुदानमा अक्सिजन सिलिण्डर माग्दै राजदूतहरु नागरिकको उपचार आफ्नो दायित्व सम्झिएर खटेका छन्। निजी क्षेत्रले अक्सिजन प्लान्टका लागि अुनदानदेखि सुलभ कर्जासमेत घोषणा गरिराखेका छन्। तर, सरकार भने चुनाव घोषणा गरेर नागरिकको स्वास्थ्यमाथि खेलवाड गरिराखेको छ !
यदि ६ महिनापछि चुनाव गर्ने नै भए निर्वाचन आयोगका लागि मात्र करिब ९ अर्ब खर्च हुन्छ। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार कोरोना नियन्त्रणमा एक अर्ब र निर्वाचनका लागि आठ अर्ब खर्च हुने अनुमन गर्न सकिन्छ। यसमा निर्वाचन सुरक्षा र सरकारले गर्ने अन्य खर्च जोडिएको छैन।
आयोगको मात्र ८ अर्ब खर्च
निर्वाचन खर्चबारे आयोगको आफ्नै मापदण्ड छ। कतिवटा निर्वाचन स्थल र केन्द्र हुन्छन् भन्ने तय भएपछि चुनावी खर्चको विवरण निकाल्न सकिन्छ। आउँदो चुनावमा करिब १० हजार मतदानस्थल हुन्छन्। एउटा मतदान केन्द्रमा कति कर्मचारी खटाइन्छ भन्ने मापदण्ड हुन्छ। आयोगले सबैभन्दा पहिला कति मतदाता हुन्छन् ? कति मतदानस्थल हुन्छन् ? कति मतदान केन्द्र हुन्छन् ? कति कर्मचारी खटाउनुपर्छ ? कति वटा अफिस चाहिन्छ भन्ने कुरा हेनुपर्छ। त्यसपछि मात्र कर्मचारीको तलब भत्ता र सुविधाको हिसाब निस्कन्छ।

दिनेशकुमार थपलिया
निर्वाचनका लागि विवरण संकलन पहिलो काम हो। दोस्रो चरणमा निर्वाचन कार्यालय कहिलेदेखि स्थापना हुन्छ र त्यसका लागि कति खर्च चाहिन्छ भनेर मासिक खर्चको हिसाब निकाल्ने काम हुन्छ। तेस्रो चरणम भने एउटा मतदान केन्द्रमा कति सामान चाहिन्छ भन्ने मापदण्ड अनुसार काम हुन्छ। एउटा मतदान स्थलमा ५६ किसिमको सामान आवश्यक हुन्छ। त्यसका लागि केही न केही रेट तयार हुन्छ। त्यहाँ आवश्यक पर्ने रेट लगाएर खर्चको अनुमान हुन्छ। त्यसपछि निर्वाचन सामग्रीको खर्च निकाल्ने काम हुन्छ।
चौंथो चरणमा निर्वाचनका लागि आवश्यक मतपत्र मतदाताको संख्याका आधारमा छापिन्छ। मतदाताको संख्या भन्दा १० प्रतिशत बढी मतपत्र छापिन्छ । यसका लागि सरकारी निकायले दिएको रेटको आधारमा काम हुने प्रमुख आयुक्त थपलियाको भनाइ छ।
पाँचौं चरणमा आयोगबाट निर्वाचन प्रचार-प्रसारको लागि कति खर्च हुन्छ। ‘प्रचार प्रसारका लागि एकजना स्वयम्सेवक खटाउँदा दिनको सात सय रुपैयाँ दिनुपर्छ’, थपलिया भन्छन्, ‘स्वयम्सेवकको संख्याको आधारमा त्यो खर्च तयार हुन्छ।’तलब भत्ता र सबै सामानको मापदण्ड हुने भएकाले समय अनुसार त्यसमा खर्च हुने उनको भनाइ छ। आयोगले दुई चार दिनमा बजेटको अनुमान गर्ने थपलियाको भनाइ छ। त्यसका लागि आजैदेखि आयोग छलफलमा जुटेको उनले बताए।
कोभिडले खर्च बढ्ने
कोभिडको खर्चको विश्लेषण आयोगले मात्र गर्न नसक्ने थपलियाको भनाइ छ। यसका लागि स्वास्थ्य क्षेत्रका विज्ञ र सम्बन्धित अधिकारीसँग बस्नुपर्ने उनले बताए। कोभिडबाट सुरक्षित रहन मात्र चुनावको समयमा एक अर्ब खर्च लाग्ने अनुमान छ। ‘चुनावमा कोभिडको पनि विश्लेषण गर्नुपर्छ। यो विश्लेषण हामीले मात्र गरेर हुँदैन। कोभिडको विश्लेषण गर्दा कोभिड नियन्त्रणमा एक अर्ब खर्च हुनसक्छ भन्ने हाम्रो अनुमान छ’, उनले थपे।
यस पटक मतपेटिका किन्नु नपर्ने हुँदा अघिल्लो चुनावमा भएको खर्चकै हाराहारीमा रकमले पुग्ने अनुमान आयोगको छ। ‘यो पटक हामीले मतपेटिका किन्नु पर्दैन। तीन चार दिन भित्रमा हामी बजेटको अनुमान गर्नसक्छौँ’, थपलिया भन्छन्, ‘कोभिडको अवस्था कस्तो हुन्छ त्यो हेर्नुपर्छ। यो भन्दा अघिल्लो चुनावमा आठ अर्ब खर्च भएको थियो। अहिले सामानको मूल्यसमेत वृद्धि भएको छ। त्यो हुँदा हुँदै पनि आठ अर्ब भन्दा बढी लाग्दैन। यो रकम चाहिँ निर्वाचन आयोगको तर्फबाट खर्च हुने मात्र हो।’
यसअघि संविधानसभाका दुई वटा चुनाव भए। पहिलो संविधानसभा चुनावमा निर्वाचन आयोग र चुनावी सुरक्षाका लागि आठ अर्ब खर्च भएको थियो। दोस्रो संविधानसभा चुनाव हुँदा यो खर्च बढेर १६ अर्ब पुगेको थियो। आगामी चुनावमा दोस्रो संविधानसभाको चुनावको हाराहारीमै खर्च हुने र कोभिड नियन्त्रणका नाममा थप एक अर्ब खर्च बढ्ने अनुमान आयोगले गरेको हो।
आयोगको खर्च आठ अर्ब, सुरक्षामा आठ अर्ब र कोभिड नियन्त्रणमा एक अर्ब गरेर १७ अर्ब खर्च हुने देखिन्छ। यही हाराहारीमा चुनावी प्रचारप्रसार र अन्य खर्च गर्दा करिब ३८ देखि ४० अर्ब रुपैयाँ निर्वाचनमा खर्च हुने देखिन्छ। यो रकम कोभिड नियन्त्रण र स्वास्थ्य क्षेत्रमा मात्र खर्च गर्न सकेको भए तीन करोड नागरिकले स्वास्थ्य उपचार अभावमा दैनिक छटपटिनु र अकालमा ज्यान गुमाउनु पर्ने थिएन।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



