
काठमाडौं, ९ जेठ। कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर सुरु भएसँगै अक्सिजन अभावमा धेरै संक्रमितले ज्यान गुमाउनु परेको छ। अस्पतालमा सीमित अक्सिजन सिलिण्डर हुँदा उपचारमा समस्या परेको हो। अक्सिजन सिलिण्डरको अभाव र भएका सिलिण्डर भर्न पर्याप्त प्लान्ट नहुँदा महामारीको समयमा अक्सिजन अभावमा नागरिकले ज्यान गुमाउनु परेको छ। तीव्र फैलिएको कोरोना भाइरस संक्रमितको उपचारमा सरकारले भने अझैसम्म ठोस कदम चाल्न सकेको देखिँदैन। केही मन्त्री र पहुँचवाला सांसदले आफ्नो निर्वाचन क्षेत्र र जिल्लाका अस्पतालमा अक्सिजन प्लाटनका लागि योजना स्वीकृत गरे पनि त्यसको काम अगाडि बढ्न सकेको छैन।
सरकार नीतिगत अल्झनमा हराइरहेका बेला निजी क्षेत्रले अक्सिजन सिलिन्डर आयात र प्लान्ट निर्माणमा तत्परता देखाएको छ। बैंकहरुले अक्सिजन प्लान्ट स्थापनाका लागि सुलभ कर्जासँगै सरकारी अस्पतालमै प्लान्ट स्थापनाका लागि सहयोगसम्म गरेका छन्। अक्सिजन प्लान्ट स्थापनाका लागि नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको त्रैमासिक मौद्रिक समीक्षा गर्दै बेस रेट (आधारदर)मा कर्जा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएपछि बैंकहरुले महामारीमा सहयोग र सुलभ कर्जाको बाटो खोलेका हुन्। यसले आगामी दिनमा अक्सिजन अभावमा कसैले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता नरहने विश्वास गरिएको छ।
कोरोना भाइरसको कारण बजारमा अक्सिजनको माग बढेपछि राष्ट्र बैंकले अक्सिजन उद्योग स्थापनाको लागि उद्योगीलाई सहुलियत दिने निर्णय गरेको हो। हाल बैंकहरूको बेस रेट (आधारदर) ७ प्रतिशतको आसपासमा छ।
राष्ट्र बैंकका अनुसार उद्योगीले यो सुविधाबाट लिक्विड अक्सिजन प्लान्टका लागि ५० करोडसम्म र अक्सिजन प्लान्ट स्थापना गर्न २० करोडसम्मको कर्जा पाउनेछन्। कर्जालाई एक वर्षको लागि विशेष पुर्नकर्जा उपलब्ध गराउन राष्ट्र बैंकले भनेको छ।
बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत छुट्याएको रकम कोभिड नियन्त्रणका गतिविधिमा खर्च गर्न पाउने बताएको छ। बैंकले नाफाको १ प्रतिशत सीएसआरमा छट्याउनु पर्ने प्रावधान छ। यसरी छुट्याएर राखेको रकम अब बैंक तथा वित्तीय संस्थाले अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, म्याक्सिन, औषधिमा खर्च गर्न पाउनेछन्। कोभिडलाई मध्यजर गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको हो।
नबिल बैंक र चौधरी फाउन्डेसनको आईसीयू र अक्सिजन प्लान्टमा सहयोग

नबिल बैंक र चौधरी फाउन्डेसनले वीर अस्पतालमा कोभिड रोकथामका लागि सहयोगको घोषणा गरेका छन्। चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ शैय्याको आईसीयू वार्ड स्थापनाका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँग समझदारी गरेको छ भने नबिल बैंकले अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता गरेको छ।
फाउन्डेसनको तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्राडा देवनारायण शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् भने वीर अस्पतालमै अक्सिजन प्लान्ट स्थापनाका लागि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह र प्रतिष्ठानका उपकुलपति शाहले सम्झौतामा हस्ताक्षर गरेका छन्। वीर अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्टसहितको आईसीयू वार्ड बनाउन नबिल र फाउन्डेसनले यो पहल गरेका हुन्।
अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर प्रतिघण्टा रहनेछ। जसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिने बताइएको छ। यो सम्झौता कार्यान्वयन भएमा केन्द्रीय कोभिड अस्पताललाई अक्सिजन अभाव नहुने विश्वास नबिलका सीईओ शाह र चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीको छ।
‘सिद्धार्थ अक्सिजन लोन’ र १ करोड ४ लाख सहयोग
सिद्धार्थ बैंकले ‘सिद्धार्थ अक्सिजन लोन’ भनेर सहुलियतपूर्ण कर्जा सुविधा ल्याएको छ। महामारीको समयमा अक्सिजनको चरम अभावलाई ध्यान दिँदै अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणको खरिद तथा क्षमता विस्तारको लागि इच्छुक अस्पताल र उद्योगलाई लक्षित गर्दै सहुलियतपूर्ण लोन ल्याएको बैंकले जनाएको छ। बैंकका अनुसार कर्जा अवधिभर बेस रेटमा कर्जा प्रवाह गरिने छ।

त्यसैगरी बैंकले यो आर्थिक वर्षमा मात्र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड ४ लाख प्रदेश तथा स्थानीय सरकारलाई प्रदान गरेको छ। बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाखका दरले ७० लाख र आफ्ना शाखा रहेका १७ गाउँपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोषमा दुई लाखका दरले ३४ लाख सहयोग गरेको हो।
एनआईसी एशियाको सहयोग
एनआइसी एशिया बैंकले काठमाडौंको टोखा नगरपालिकालाई ३ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेको छ।

टोखा क्षेत्रमा दैनिक रूपमा कोरोना संक्रमण तीव्रगतिमा बढेपछि एनआईसी एशिया बैंकले अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जानकारी दिए। बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि टोखा नगरपालिकालाई सहयोग गरेको उनको भनाइ छ।
अक्सिजन प्लान्ट स्थापनामा बैंकर्स संघको चासो
बैंकहरुको छाता संगठन बैंकर्स संघले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ। संघले अरु देशबाट सामान ल्याएर अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरेको हो। राष्ट्र बैंकले नीतिगत सहयोग गर्ने भएपछि संघ अघि सरेको हो। संघले वीर अस्पतालमा प्लान्ट लगाउने प्रस्ताव गरेपनि त्यहाँ चौधरी फाउन्डेसनलगायतले लगाउने भएपछि संघले अरु प्रदेशमा लगानी गर्ने भएको छ।
उद्योग वाणिज्य संघको आइसोलेसनमा लगानी
यस्तै नेपाल उद्योग वाणिज्य महासंघले क्षेत्रपाटीको पुरानो गोर्खा अस्पतालमा कोभिड आइसोलेसन उपचार केन्द्र संचालन सुरु गरेको छ। अहिले ५० वटा बेडबाट सुरु गरिएको अस्पताल विस्तार गर्दै १ सय बेडसम्म पुर्याउने लक्ष्य राखिएको छ।
जावलाखेल ग्रुपको दुई करोड
जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले कोभिड-१९ प्रभावित लक्षित समूहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आईसीयूलगायत अन्य स्वास्थ्य सामग्री खरिदको लागि दुई करोडको अनुदान दिएको छ। कम्पनीले अक्सिजन प्लान्ट र आईसीयू विस्तारका लागि धुलिखेल अस्पताललाई एक करोड २५ लाख, विभिन्न प्रदेशका लागि ७५ लाख सहयोग गरेको छ।
त्यसैगरी एनसेल आजियाटा लिमिटेडले १५० थान भन्दा बढी अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गर्ने बताएको छ। कोभिड-१९ विरुद्घ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेलले १५० थान भन्दा बढी पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गर्ने प्रतिबद्घता जनाएको हो।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



