निषेधाज्ञा उल्लंघन गरे १ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना

-



     सफल आवाज    
     जेठ १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० जेठ । कोरोना भाइरसको संक्रमण तिब्ररुपमा भईरहेको अवस्थामा सरकारले जारी गरेको निषेधाज्ञालाई पालना नगर्नेमाथि कडाईकासाथ कारबाही गर्ने बताएकाे छ ।

आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै निषेधाज्ञाको परिपालना पूर्णरुपले गर्नुपर्ने जनाएको छ । पालना नगरेको खण्डमा त्यस्ता व्यक्ति तथा संस्थालाई एक वर्षसम्म कैंद तथा पाँच लाखसम्म जरिवाना वा दुबै सजाय हुने उल्लेख छ ।

निषेधाज्ञाको बेलामा अध्यादेशको पालना नगरेको खण्डमा तत्काल प्रमुख जिल्ला अधिकारीले व्यक्तिलाई १ लाखसम्म तथा संस्थाले उल्लंघन गरेको पाईएमा पाँच लाखसम्म जरिवाना गर्नसक्ने सूचनामा उल्लेख छ ।

यस्तै मास्क नलगाई हिंडडुल गरेको पाईएमा प्रत्येक पटक १०० रुपैयाँ जरिवाना गरिने, अत्यावश्यक कामबाहेक बाहिर निस्किएको खण्डमा २०० रुपैयाँ, अत्यावश्यकबाहेक सवारी साधन चलाएमा, दुई पांग्रे भए प्रत्येक पटक २ हजार र अन्य सवारी भए प्रत्येक पटक पाँच हजार जरिवाना गरिने सूचनामा जनाईएको छ ।