उपत्यकामा बैंकले दैनिक ६ वटा शाखा मात्र खोल्न पाउने

-



     सफल आवाज    
     जेठ ११ गते २०७८ मा प्रकाशित



काठमाडौ, ११ जेठ । उपत्यकामा बैंक तथा वित्त कम्पनीले दैनिक ६ वटा शाखा कार्यालय मात्र खोल्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले केन्द्रीय कार्यालयसँगै ६ वटा शाखा कार्यालय मात्र खोल्न दिने गरी निर्देशन जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयको आग्रहअनुसार यस्तो निर्देशन जारी भएको राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्त कम्पनीमा भीडभाड बढेको भन्दै राष्ट्र बैंकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि यस्तो निर्देशन जारी गरेको प्रवक्ता देवकुमार ढकालले जानकारी दिए।

प्रवक्ता ढकालका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को संक्रमण जोखिम न्यूनिकरण गर्दै उच्च सतर्कताका साथ सेवा प्रवाह गर्ने सम्बन्धमा यस बैंकबाट इजाजतप्राप्त, क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन जारी भएको हो।

केन्द्रीय कार्यालयले साताको ६ दिन सेवा दिन सक्ने र अन्य शाखाले तालिका बनाएर आलोपालो सेवा दिनुपर्नेछ। राष्ट्र बैंकले वैशाख १९ गते जारी गरेको निर्देशन अनुसार बैंकका केन्द्रीय कार्यालय सञ्चालन र अत्यावश्यक बैंकिङ सेवाका लागि बन्द रहेका शाखाका सम्पर्क व्यक्तिको नम्बर, सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा, शाखा खुला रहने सम्बन्धी सूचना दैनिक प्रकाशन गर्नुपर्ने जनाएको छ।

राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकले काठमाडौं जिल्लामा ३, ललितपुरमा २ र भक्तपुरमा १ शाखा आलोपालो सञ्चालन गर्नुपर्ने छ भने ‘ख’ वर्गका विकास बैंकले काठमाडौं जिल्लामा २, ललितपुरमा १ र भक्तपुरमा १ शाखा आलोपालो सञ्चालन गर्नुपर्ने छ।

त्यसैगरी ‘ग’ वर्गाका वित्त कम्पनीले काठमाडौं, भक्तपुर र ललितपुरमा १/१ शाखामात्र आलोपालो गरेर सञ्चालन गर्न पाउने छन्। राष्ट्र बैंकले सबै बैंकलाई निर्देशन पालना गर्ने व्यवस्था मिलाउन भनेको छ।

बैंकका शाखा कार्यालयमा कर्मचारीको सीमा तोकिएको छैन भने केन्द्रीय कार्यालयमा २० प्रतिशत मात्रै कर्मचारी उपस्थित गराएर सेवा दिन भनिएको छ। यो सर्कुलर अगाडि सबै बैंकका शाखाले २५ प्रतिशत कर्मचारीको उपस्थितिमा सेवा दिँदै आएका थिए।

निषेधाज्ञा सुरु भएपछि बैंकहरुले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मात्र बैंकिङ सेवा दिँदै आएका छन्। बैंक र वित्त कम्पनीले सञ्चालन हुने शाखा कार्यालय र कर्मचारीको विवरण शुक्रबार नै बैंकको वेवसाइटमा प्रकाशित गर्नु पर्नेछ।