
काठमाडौं, ११ जेठ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरले अर्थतन्त्रमा थप अनिश्चितता बढेको बताएका छन्। कोरोनाका कारण देखिएको अनिश्चितताले अर्थतन्त्रमा चुनौती बढेको उनको भनाइ छ।
एसियन क्लियरिङ युनियन, सञ्चालक समितिको बैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। बैठकलाई सम्बोधन गर्दै अधिकारीले कोरोनाको अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन, यातायात, उत्पादन र निर्माण क्षेत्रको पुनरुत्थान हुँदै गएको अवस्थामा दोस्रो लहरले चुनौती थपेको बताएका हुन्। अधिकारीले कोभिड प्रभावित अर्थतन्त्रको पुनरुत्थानको निम्ति प्रभावकारी नीतिगत व्यवस्था अवलम्बन गर्दै जाने योजनालाई राष्ट्र बैंकले अगाडि सारेको उल्लेख गरे।
‘कोभिडको दोस्रो लहरका कारण मुलुकको समष्टिगत अर्थव्यवस्था फेरि अनिश्चितातर्फ धकेलिएको छ’, गभर्नर अधिकारीले भने, ‘तथापि कोभिड प्रभावित अर्थतन्त्रको पुनरुत्थानको निम्ति थप प्रभावकारी नीतिगत व्यवस्था अवलम्बन गर्दै जाने योजनालाई नेपाल राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको छ।’
राष्ट्र बैंकले संक्रमण फैलिएपछि अर्थतन्त्रमा देखिएको तरलताको सहजीकरण, व्याजदर कटौती, अतिरिक्त चालु पुँजी कर्जाको सुविधा, कर्जाको सावाँ/ब्याजको भुक्तानीको समयसीमा बढाउनेलगायत नीतिगत सहुलियत दिएकोसमेत जानकारी दिए।
कोभिडको संक्रमणपछि विद्युतीय भुक्तानी प्रणालीलाई विस्तार गरिएको गभर्नर अधिकारीको भनाइ छ। कोभिड प्रभावित पर्यटनसँगै घरेलु, मझौला व्यवसायमा जनशक्तिको ज्याला भुक्तानीको लागि सरकारको सहयोगमा छुट्टै ५० अर्ब रुपैयाँको कोष बनाएको उनले बताए।
बैठकमा बोल्दै एसिया तथा प्यासिफिक क्षेत्रका लागि राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगका उप-महासचिव आर्मिदा सल्सिया अलिस्जबानाले कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई गतिशील तुल्याउनका निम्ति युनियनमा आवद्ध केन्द्रीय बैंकबीच नीतिगत सहकार्य र समन्वय गर्न सुझाव दिएका छन्।
यस्तै युनियनका महासचिव लीडा बोर्हान आजादले सन् २०१९ मा युनियनबाट भएका कामकारवाही सम्बन्धी प्रतिवेदन पेश गरे। बैठकले एसियन क्लियरिङ युनियनको अध्यक्षको जिम्मेवारी रिजर्ब बैंक अफ इण्डिया (आरबीआई)लाई दिइएको छ। अर्को बैठक नहुँदासम्म आरबीआईले युनियनको अध्यक्षता गर्नेछ।
इरानको तेहरानमा सचिवालय भएको युनियनको स्थापना सन् १९४७ मा भएको हो। यसले अन्तरदेशीय भुक्तानी कारोबारलाई व्यवस्थित र सहजीकरण गर्ने उद्देश्य राखेको छ। एसियन क्लियरिङ युनियनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलङ्का, भुटान, माल्दिभ्स, म्यानमार र इरान गरेर नौ देशका केन्द्रीय बैंक आबद्ध छन्।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



